• १४ माघ २०८१, सोमबार

मूर्ति बनाउन भ्याइनभ्याइ

blog

सुनसरी सदरमुकाम इनरुवा–२ मा बिव्रmीका लागि बनाइएका सरस्वती मूर्ति । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, माघ १२ गते । माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वती पूजाका लागि बजारमा सरस्वतीको मूर्ति निर्माण गर्न कालिगडलाई भ्याइनभ्याइ हुन थालेको छ । श्रीपञ्चमी नजिकिएसँगै सुनसरीका कालिगड दिनरात मूर्ति निर्माण गर्न लागिपरेका छन् । 

सुनसरीको सदरमुकाम इनरुवा–२ मा ‘विनोद आटर््स एन्ड मूर्ति कारखाना’ मा एक दशकदेखि मूर्ति बनाउँदै आउनुभएका विनोदकुमार यादव बिहान उठेदेखि राति अबेरसम्म मूर्तिकै काममा व्यस्त हुनुहुन्छ । १२ कक्षासम्म पढेका यादवले मूर्ति बेच्ने काम गरेर वार्षिक छदेखि सात लाख रुपियाँ कमाउँदै आएको छ । विनोदले माग अनुसारका मूर्ति बनाउनेदेखि लक्ष्मी, दुर्गा, सरस्वती, विश्वकर्मा बाबा, कृष्णाष्टमी, जितमा र छटीमाईको मूर्ति बिक्रीबाट राम्रो आम्दनी गर्दै आएको बताउनुभयो । उहाँले यस वर्षको सरस्वती पूजाका लागि एक सय वटा सरस्वती माताको मूर्ति बनाएर तयार पारिसक्नु भएको छ । मूर्तिको माग बढ्दै जाँदा थप अरू मूर्ति बनाउने काममा लागेको यादवले बताउनुभयो । उहाँले एक जनाले मात्र भ्याइनभ्याइ हुने भएकाले थप दुई सहयोगी लिएर काम गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “विद्याकी देवी सरस्वतीको पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने हुँदा यस वर्ष माघ २१ गते परेको वसन्तपञ्चमी नजिकिँदै जाँदा माग पनि बढ्दै गएको छ । ११ वर्षको उमेरदेखि नै बुवासँगै सिकेको यही पेसाले हाम्रो परिवार चलेको छ ।”  उहाँ रातो लिसाइलो माटो, पराल, बाँस, गहुँको भुस, धानको भुस, सनपाट, डोरीको र रङको संयोजन गरेर मूर्ति बनाउँदै आएका विनोदलाई एउटा मूर्ति बनाउन दुई दिन लाग्ने गरेको बताउनुहुन्छ । अहिले उहाँलाई धेरै विद्यालयबाट मूर्तिका लागि अर्डर आएकोले पनि चटारो थपिएको बताउनुहुन्छ  । उहाँ एउटा मूर्ति तीनदेखि चार हजार रुपियाँसम्ममा बिक्री हुने गरेको बताउनुहुन्छ । 

सुनसरीमा एक दर्जनभन्दा बढी कुमाले ले मूर्ती बनाएर व्यापार गर्दै आएका छन् । जिल्लाकै विभिन्न ठाउँमा छरिएर दुई दर्जनभन्दा बढी कुम्भकार माटाका मूर्ति र सामान बनाएर जीविका चलाउँदै आएका छन् ।