रजनी योगी
सुर्खेत, माघ १२ गते । अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो । कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबैभन्दा छोटो रानीघाट–तेलपानी–भुरीगाउँ सडकखण्ड अन्तर्गत मूलपानी–फलाटे–रानीघाट सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि टेन्डर आह्वान गरिएको हो ।
बजेटको स्रोत सुनिश्चित गरेर टेन्डर आह्वान गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर खडक निर्माण गर्न लागिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय ठेक्कामार्फत काम अघि बढाइने छ । सात किलोमिटर सडक निर्माणका लागि ३२ करोडको स्रोत सुनिश्चित भएको छ ।
सडक निर्माणको काम तीन वर्षमा गरिसक्नुपर्ने छ । माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयले जनाएको छ । ३० दिनभित्र आवेदन दिने समय तोकिएको छ । कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी भुरीगाउँ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो ।
यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आव २०७६/७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भए पनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो । पहिलो खण्डका रूपमा मूलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो ।
दोस्रो सडकखण्डका रूपमा रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ देखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो तर अहिले सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन आइसकेपछि म्याद थपिएको हो । एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्ने गरी काम अघि बढाइएको छ । १३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ जागृति जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वनजङ्गल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
यसैबिच कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न सडक निर्माण गर्न लागेको छ । पर्यटकीय स्थल गोठीकाँडा आसपासका सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको हो । छेडा–गढी–श्रीचौर–ल्याणकाँध सडकको पनि स्तरोन्नतिसहित कालोपत्रेका लागि टेन्डर प्रक्रिया सुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर सडक कालोपत्रे गरिने छ । माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो । सडक निर्माणसँगै सुर्खेतको माथिल्लो भेगमा सडक सहज पहुँचका साथै कर्णाली राजमार्ग जोड्ने छ । कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन रणनीतिक योजना ल्याएको छ । सोही योजना अनुरूप अहिले बजेटको स्रोत सुनिश्चित गरेर मात्र टेन्डर आह्वान गर्ने गरिएको छ । जसले गर्दा आयोजना निर्माण सहज हुने छ भने बजेट अभावका कारण आयोजना अलपत्र पर्ने छैनन् । पूर्वाधार निर्माण गर्दा आवश्यकताका आधारमा मात्र गरिने प्रदेश सरकारले जनाएको छ । बहुवर्षीय र बजेटको स्रोत सुनिश्चित भएका आयोजनामा मात्र कार्यान्वयन हुने छन् ।