तुलसीपुर समाचारदाता
तुलसीपुर, माघ १२ गते । तुलसीपुर उपमहानगरपालिका–१९, सक्राममा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएका छन् । विसं २०६२/६३ को जनआन्दोलनपश्चात् तत्कालीन नेकपा (माओवादी) का सेनालाई व्यवस्थापन गर्न दीर्घ स्मृति ब्रिगेडमा करिब दुई हजार सेना राखिएको थियो ।
लामाखोला महिला सामुदायिक वनभित्रको करिब २५ हेक्टर क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत्, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको थियो । पछि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो । पालिकाले पनि त्यसको संरक्षणको जिम्मा स्थानीयलाई दियो ।
सङ्ग्रहालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष विभीषण रोकामगरले सङ्ग्रहालयमा तत्कालीन माओवादीले सेनाले प्रयोग गरेका हातहतियार, पोसाक राख्ने योजना रहेको बताउनुभयो । उहाँले सङ्ग्रहालयमा हाल रहेका संरचनामै राख्दा सुरक्षा अभाव हुने भएकाले थप संरचना निर्माण गरेर ती सामग्री राखिने रोकाले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्र्रहालय संरक्षणका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरे बजेट अभाव हुँदै आएको बताउनुभयो । अध्यक्ष योगीले भन्नुभयो, “विस्तृत विवरण परियोजना (डिपिआर) मा १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने उल्लेख छ तर प्रत्येक वर्ष सङ्घ र प्रदेश सरकारबाट थोरै बजेट आउँछ ।” उहाँले सङ्ग्रहालयभित्र पालिकास्तरबाट खेलमैदान निर्माण गरिएको बताउनुभयो ।
वडा नम्बर १९ का वडा सदस्य एवं स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषय छन् । त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीले उपयोग गर्दै आएको स्थानीय नन्दलाल खड्काले बताउनुभयो । त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिक रूपमा तलब प्रदान गर्दै आएको छ ।