चितवन समाचारदाता
चितवन, माघ १२ गते । पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ । राप्ती नगरपालिका–४ र ५ का किसानले लगाएको काउली, बन्दा र अन्य तरकारी बालीमा ढुसी लाग्ने, डढ्ने रोगका कारण फल्न लागेको बोट मरेको कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । रोगले तरकारी बाली मर्न थालेपछि कृषि विकास कार्यालयको नेतृत्वमा प्राविधिकको टोलीले गरेको निरीक्षणपछि परीक्षणमा अत्यधिक विषादीको प्रयोग भएको पाइएको छ ।
रोगबाट लड्नका लागि प्रयोग गरिएको विषादीका कारण ढुसी लाग्ने, मर्ने जस्ता समस्या भेटिएको कृषि विकास कार्यालय चितवनकी बाली संरक्षण अधिकृत गीता केसीले भन्नुभयो ।
रोग देखा परेपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा रहेको रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो । उक्त प्रयोगशालाको प्रारम्भिक रिपोर्टले काउली र बन्दामा विषादीले रोग ल्याउने काम गरेको देखिएको बाली संरक्षण अधिकृत केसीले बताउनुभयो ।
प्रारम्भिक परीक्षणमा विषादी नै भएका कारण देखिएपछि सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । धेरै क्षेत्रको तरकारी बारीमा यस्तो समस्या देखिएको छ । कार्यालयले गरेको अनुगमनका क्रममा कम्तीमा तीन बिघा क्षेत्रफलमा यस्तो समस्या देखिएको छ । अन्य स्थानमा पनि समस्या भएको जानकारी आएपछि कार्यालयको प्रतिनिधिसहितको प्राविधिकको टोलीले थप अध्ययन गरी राखेको उहाँले जानकारी दिनुभयो ।
कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार राप्ती नगरपालिका विभिन्न स्थानमा लगाइएको धेरै प्रकारका तरकारीमा रोगको समस्या देखिएको छ ।
उहाँले भन्नुभयो, “प्रारम्भिक चरणमा विषादीको प्रयोग व्यापक भएर पातमा चोट लाग्यो । चोटका कारण बिरुवाले खाना लिन सकेन । बिरुवा कमजोर भएको अवस्थामा चिस्यान दिनका लागि किसानले बालीमा पानी लगाउँदा चिस्यान बढी बिरुवामा चोट अझ बढ्न गयो ।”
पूर्वी चितवन तरकारीको पकेट क्षेत्रसमेत हो । यहाँ नयाँ प्रकारको रोगका कारणले गर्दा किसान मर्कामा परेका छन् । राप्ती नगरपालिका–८, बडहराका किसान शिवराज धरेलले राप्तीका सबै किसानले लगाएको काउली जातिका तरकारीमा यो रोग लागेको बताउनुभयो । रोगको लक्षण देखिएपछि कृषि विकास कार्यालय र नगरपालिकाको कृषि विकास शाखामा जानकारी गराएको उहाँले बताउनुभयो ।
अहिले बन्दा, काउलीमा सुरुमा पातको टुप्पो मरेको छ । त्यसको फलको आकार र ओजन नआउने र हेर्दा खान हुने जस्तो नदेखिने उहाँले बताउनुभयो । एकदेखि अर्कोमा तीव्र गतिमा रोग सरिरहेको छ ।