• १३ माघ २०८१, आइतबार

नेपालमा व्यावसायिक गतिविधि बढाउन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ । 

मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हस्मीबिच शुक्रबार भएको शिष्टाचार भेटमा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको सङ्घीय संसद्ले नेपाल–पाकिस्तान संसदीयमैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले त्यसै समूहमार्फत सहयोग आदान प्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महìवपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

“हामीले दुई राष्ट्रबिच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौँ । हामीले यी संयन्त्रमार्फत संवाद र सम्पर्क जारी राख्नु आवश्यक छ,” मन्त्री भण्डारीले बताउनुभयो । उहाँका अनुसार अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने छन् ।

नेपाल र पाकिस्ताननिकट छिमेकी भए पनि सोचे जस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल र पाकिस्तानबिचको व्यापार तथा आर्थिक अन्तरनिर्भरता बढाउनका लागि दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीलाई सम्बोधन गर्नेतर्फ संयुक्त रूपमा थप प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । 

“हामीले वर्तमान आर्थिक वास्तविकता प्रतिविम्बित गर्न र व्यापार सहजीकरण बढाउन नयाँ सम्झौता बनाउने वा यसलाई पुनरवलोकन गर्ने समय आएको छ, दुई देशबिचको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्न हामी नेपालका विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीलाई प्रोत्साहित गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “जसमा कपडा र पर्यटन आदि समावेश छन् ।” 

उहाँले नेपाली वस्तुले पाकिस्तानमा नियामक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै नेपाली वस्तुलाई पाकिस्तानमा आयात प्रक्रिया सरल बनाउन र प्रमुख नेपाली निर्यातमा भन्सार शुल्क घटाउन विशेष अनुरोध गर्नुभयो ।

लगानी, पर्यटन, संस्कृति र जनता जनताबिचको सम्बन्धलगायत पारस्परिक लाभका लागि दुवै देशले मिलेर काम गर्न सक्ने धेरै क्षेत्र रहेका उहाँले उल्लेख गर्नुभयो । उहाँले कृषि र पर्यटनसम्बन्धी संयुक्त कार्य समूहको नियमित बैठक आयोजना गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक रहेकामा जोड दिनुभयो । साथै मन्त्री भण्डारीले नेपालले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रहसमेत गर्नुभयो । 

नेपालका लागि पाकिस्तानका राजदूत हास्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको बताउनुभयो । उहाँले नेपालको चिया तथा कफी पाकिस्तानमा राम्रै परिणाममा निर्यात भइरहेको उल्लेख गर्दै ब्रान्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने जानकारी गराउनुभयो । 

राजदूत हास्मीले दुई देशबिच व्यापारिक गतिविधि बढाउन दोहोरो करको समस्या रहेकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जानकारी गराउँदै उहाँले छात्रवृत्ति रकम वृद्धि गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नेपालको सगरमाथा र पाकिस्तानको केटु हिमालसम्म जोड्न पर्यटकीय मार्ग बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले काठमाडौँ–लाहोर नियमित सिधा हवाई उडानका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।