मीना कंडेल
कावासोती, माघ ११ गते । थोरै लगानी र थोरै श्रमबाट समेत राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरी पालन व्यवसाय उत्तम हुँदै जान थालेको छ । घरयासी प्रयोगका लागि मौरी पालन गरिने भए पनि पछिल्लो समय व्यवसायिक रुपमा यो व्यवसाय फस्टाउन थालेको छ ।
नवलपुरको देवचुली, कावासोती, गैँडाकोटमा मुख्य गरी मौरी पालन गर्ने किसानहरू क्रमिक रूपमा बढ्दै गएका छन् । जिल्लामा दुई सयभन्दा बढी किसान मौरी पालन व्यवसायमा संलग्न रहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । अहिले सबैजसो किसानले दुइ तीन पटक मह काढ्ने काम गरिसकेका छन् ।
घरमै घार राख्नेहरूले सामान्यता एक वर्षमा तीनदेखि चार पटकसम्म र बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्नेले वर्षमा ६ देखि ८ पटकसम्म मह निकाल्ने नेपाल मौरी पालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताउनुभयो । व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानलाई व्यावसायिक किट विकास केन्द्र बन्दीपुरले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
महको प्रयोग स्वास्थ्यका लागि लाभप्रद भएकाले यसको माग बढ्दै गएको छ । पछिल्लो समय मह सेवन स्वास्थ्यका लागि लाभदायक रहेको भन्ने जनमानसमा पर्दै गएकाले महको बजार विस्तार हुँदै गएको अध्यक्ष कँडेलले बताउनुभयो ।
देवचुली ९ का किसान विष्णु बहादुर खड्काले तीन वर्षदेखि मौरीपालन गर्दै आउनुभएको छ । पाँच घार बाट सुरु गरी अहिले २८ वटा मौरीका घार रहेका छन् । यस वर्ष मात्र खड्काले दुई पटक गरी करिब चार सय केजी मह उत्पादन गर्नुभएको छ । स्थानीय बजारमा मह सात सय रुपियाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ । देवचुलीका अर्का किसान निर्मला कंडेलले लामो समयदेखि मौरी पालन गरी राम्रो आम्दानी गरेको बताउनुभयो । थोरै लगानीबाट व्यवसाय सुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि आफु मौरी पालनमा लागेको उहाँले बताउनुभयो ।
नवलपुरमा यस वर्ष करिब ७० टन मह उत्पादन हुने अनुमान रहेको छ । महको प्रकृति हेरी ७ सयदेखि एक हजार रुपियाँसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । उत्पादन भएको मह स्थानीय बजारबाट खपत हुने गरेको उहाँको भनाइ छ ।