• ११ माघ २०८१, शुक्रबार

देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...

blog

गण्डकी, माघ ११ गते ।  उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए ।  

पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताउनुभयो । अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उहाँको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताउनुभयो । 

जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उहाँले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताउनुभयो । पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्ने बताउनुभयो । देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उहाँले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताउनुभयो ।  

विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिनुहुन्छ । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहनुभएका उहाँ संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री हुनुभएको थियो । उहाँ कुशल सङ्गठक र विकासप्रेमी नेताका रूपमा परिचित हुनुहुन्थ्यो । शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा (माले) स्थापना र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले पञ्चायतविरोधी आन्दोलनमा मालेका तत्कालीन नेता गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गर्नुभएको थियो । शर्माले नेकपा (एमाले) बागलुङको सचिवका रूपमा १५ वर्ष, धवलागिरि इञ्जार्ज र केन्द्रीय सदस्यका रूपमा पनि जिम्मेवारी पूरा गर्नुभएको थियो । मिर्गौला प्रत्यारोपणका लागि भारत जानुभएका शर्माको उपचारकै क्रममा निधन भएको थियो । शर्माका श्रीमती, दुई छोरा र छोरी छन् । रासस