पशुपतिनगर समाचारदाता
पशुपतिनगर, माघ ११ गते । इलामको कन्याममा निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बिच सम्झौता भएको छ ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको २१ करोड ६७ लाख नौ हजार ५२६ रुपियाँको लगानीमा निर्माण भएको परीक्षण केन्द्र सञ्चालन गर्न नास्टका उपकुलपति दिलीप सुब्बाको उपस्थितिमा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल र सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार प्राविधिक जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गरी नगरको समन्वयमा केन्द्र सञ्चालन गर्न नास्टले दुई वर्षका लागि पहिलो चरणमा जिम्मेवारी लिएको छ ।
सम्झौता अनुसार नास्टले नेपाली चियाको गुणस्तर मापनका लागि आधुनिक प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने, नेपालको चिया क्षेत्रको अनुसन्धान कार्यमा सहकार्य गर्ने छ । यस्तै नगरपालिकाले स्थानीयस्तरमा चिया उत्पादनका लागि नीति नियम निर्माण गर्ने, ल्याब सञ्चालनका लागि भवन व्यवस्था गर्ने, तीन तहका सरकारको समन्वयमा ल्याब सञ्चालनका लागि उपकरण र बजेटको व्यवस्थापन गर्ने छ ।
त्यस अवसरमा चिया उद्योगी उदय चापागाईंले स्थानीय चिया किसान र व्यवसायीको मागलाई बुझेर केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सूर्योदय टी एसोसिएसनका अध्यक्ष उत्तमकुमार प्रधानले केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाले उक्त केन्द्रमा गरेको परीक्षणले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनुपर्ने माग राख्नुभयो ।
नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले सम्झौता अनुसार दुई महिनाभित्र ल्याब सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले केन्द्र सञ्चालनका लागि स्थानीय चिया उद्योगीले आम्दानीको केही प्रतिशत रकम केन्द्रको बास्केटमा जम्मा गर्नुपर्ने अनि मात्र पिपिपी मोडलमा केन्द्र सञ्चालन हुने बताउनुभयो ।
नास्टका उपकुलपति दिलीप सुब्बाले केन्द्रले प्राविधिक सहयोग बताउँदै केन्द्र सञ्चालनमा आएपछि चियाको गुणस्तर मापन गर्न सकिने जानकारी दिनुभयो ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण केन्द्र निर्माण भए पनि उपकरण र प्राविधिक जनशक्तिका लागि नास्टको सहयोगमा मात्र सञ्चालनमा आउने भएकाले यो सम्झौता गरेको जानकारी दिनुभयो ।
उहाँले चियाको परीक्षण, चियाको जात परीक्षण र गुणस्तर मापन केन्द्रबाट हुन सके नेपाली चिया विश्व बजारमा प्रतिस्पर्धात्मक बन्ने बताउनुभयो ।