रमेश पौडेल
पोखरा, माघ १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले हालै जारी अध्यादेशबाट निजी क्षेत्रका उद्योग व्यवसायलाई लगानी गर्नका लागि सहज वातावरण हुने बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’को उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पाण्डेले अध्यादेश कानुन निर्माणमा हुने ढिलाइले गर्दा ल्याउनुपरेको स्पष्ट पार्नुभयो।उहाँले भन्नुभयो, ‘संघ सरकारले अध्यादेश ल्याएर सहज गरायो भने गण्डकी प्रदेश सरकारले पनि निजी क्षेत्रलाई आकर्षित गर्नका लागि आवश्यक कानुन निर्माण गर्न वा संशोधन गर्न तयार छ ।’
मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रको सहभागिता विना मुलुकको आर्थिक विकास नहुने र रोजगारीको सम्भावना पनि नहुने भएकाले गण्डकी सरकार निजी क्षेत्रमैत्री भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटकीय राजधानी पोखरामा रहेको अन्तराष्ट्रिय विमानस्थललाई संचालनमा ल्याउनका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटकीय नगरी पोखरालाई आईटीको सहरका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।
संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधार बनाउने लक्ष्यका साथ मेलामा राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि र हस्तकलाका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताउनुभयो।
महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष अमित शेरचन, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, संघका महासचिव शोभा गौतमलगायतले महोत्सवले आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको बताउनुभयो ।
महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कार, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ।
मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रम रहेका छन् ।
सूचना प्रविधिलाई जोड दिँदै महोत्सवको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले सलाई र लाइटरको प्रयोगबिना स्वीच दबाएर तेल र बातीको दीप प्रज्जवलन गर्नुभयो।