काठमाडौं, माघ १० गते । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु गरेको हो ।
काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बस आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रालिले जनाएको छ । सिप्रदी ट्रेडिङ् प्रालिले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो ।
नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा विस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताउनुभयो । आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गरेको उहाँ जानकारी दिनुभयो । साथै महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराउनुभयो ।
उहाँले महानगरपालिकाले छिट्टै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिनुभयो । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।