• १० माघ २०८१, बिहिबार

सुनसरीमा मिटरब्याजी पीडितको जागरण सभा

blog

किसान–मजदुर संघर्ष समिति कोशी प्रदेशको आयोजनामा भएको मिटरब्याज पीडितहरुको जागरण कार्यक्रममा पीडितहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव  

इनरुवा, माघ १० गते । सुनसरीको इनरुवामा मिटरब्याजी पीडितको जागरण सभा गरिएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति कोशी प्रदेशको आयोजना र जिल्ला समितिको संयोजनमा भएको जागरण सभा मिटरब्याज पीडितहरुले आफूहरुको बेइमानी भएको धितोको जग्गा फिर्ता हुनुपर्ने, ब्याजदर १० प्रतिशतले मात्रै भुक्तानी गरेर ऋणबाट छुटकारा पाउनुपर्ने, वित्तीय संस्थाको धम्की आतङ्क बन्द गर्नुपर्ने माग राख्दै मिटरब्याजी पीडितको जागरण सभा गरेको हो । 

बिहीबार सयौंको सङ्ख्यामा भेला भएका मिटरब्याजी पीडितहरुले आफूहरुलाई अन्याय भएकाले न्यायको लागि जागरण सभा गरेको जनाएका छन् । मिटरब्याजी जागरण सभामा पीडित कलिम मंसुरीले विभिन्न समयमा गृह मन्त्रालयसँग भएको सम्झौताहरुको कार्यान्वयन गरी मिटरब्याज पीडितहरुलाई ऋणमुक्त र त्रासमुक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारबाट आश्वासन र विश्वास पाएको भए पनि अझै समस्या रहेकाले सहजीकरण गर्नुपर्ने र लाखौंको जग्गा हजारमा, कराेडाैंकाे सम्पत्ति लाखमा धितो भएका कारणले पचाएको, बेइमानी गरेको भन्दै आफूहरु आन्दोलनमा रहेको बताउनुभयो । 

आफूहरुको घरजग्गा ठगी गर्ने, बेइमानी गर्ने मिटरब्याजी परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारहरुलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउनुपर्ने माग आफूहरुको रहेको  पीडित निरो उराँवले बताउनुभयो । 

अर्का पीडित अमरुन खातुनले ऋणीसँग ऋणको तमसुक गर्दा ऋणीले साँवा ब्याज चुक्ता गरेपछि पनि फिर्ता नगर्नेहरुलाई कार्वाही गर्नुपर्ने माग गर्नुभयो । सरकारले मिटर ब्याजविरुद्धको सङ्घर्ष समितिसँग गरेको सहमतिको कार्यान्वयन चरणमा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रशासनमा आएको उजुरी माथि छानबिन र कारबाही भइरहेको जनाएको छ ।