• ९ माघ २०८१, बुधबार

असमानताविरुद्ध सातै प्रदेशमा खबरदारी

blog

काठमाडौँ, माघ ८ गते। गैरसरकारी संस्था महासङ्घले असमानताविरुद्ध खबरदारी र्‍याली  गरेको छ। असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासङ्घको अगुवाइमा सातै प्रदेशमा खबरदारी सभा भएको हो। 

जनवरी २१ मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा र्‍याली सञ्चालन गरिएको छ। बिहान ८ बजे सुरु भएको र्‍यालीले नगर क्षेत्रमा परिक्रमा गरी कोण सभामा परिणतभएको थियो। गैरसरकारी  संस्था  महासङ्घ नेपाल गण्डकी  प्रदेश, कास्की  शाखाको आयोजनामा भएको र्‍याली सभागृह चोकबाट जिरो किलोमिटर चोकसम्म पुगेको थियो। र्‍यालीमा  गैसस  महासङ्घमा आबद्ध संस्थाको उपस्थिति  रहेको सोभिना सुवेदीले जानकारी दिइन। 

र्‍यालीमा सहभागीले विश्वमा मानिसबिचको असमानता बढ्दो क्रममा रहेको र त्यसको व्यवस्थापनका लागि प्राकृतिक स्रोत साधनमाथिको पहुँच वृद्ध गर्नुपर्ने बताएका थिए। 

बुधबार कोशी प्रदेशको विराटनगर, बागमती प्रदेशको हेटौंडा तथा कर्णाली प्रदेशमा हुन लागेको गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले जानकारी दिनुभयो।

त्यस्तै मधेश प्रदेशमा बिहीबार असमानताविरुद्धको खबरदारी र्‍याली सञ्चालन हुनेछ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा जनवरी २४ शुक्रबार खबरदारी र्‍याली सञ्चालन हुने गैरसरकारी संस्था महासङ्घका केन्द्रीय महासचिव अर्जुन भट्टराईले जानकारी दिनुभयो।

यसअघि महासङ्घको अगुवाइमा काठमाडौंमा र्‍यालीसहितको खबरदारी सभा गरिएको थियो।

कोण सभालाई सम्बोधन गर्दै महासङ्घका महासचिव अर्जुन भट्टराईले विश्वका १० प्रतिशत मानिसले मात्र विश्वको प्राकृतिक सम्पत्तिमा पहुँच भएको भन्दै बाँकी ९० प्रतिशतलाई पनि प्राकृतिक सम्पदाको पहुँच बढाउन खबरदारी गरिएको बताउनुभयो। 

अहिले स्वीट्जरल्याडको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन जारी छ। यो सम्मेलनले साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाजलाई समेट्न खबरदारी सभा प्रभावकारी हुने अपेक्षा महासङ्घको छ।