गणेश पौडेल
पर्वत, माघ ८ गते । अन्नपुर्ण चक्रिय पदमार्गका अधिकांश ठाउँमा मोटरबाटो पुगेसँगै पर्यटकको आकर्षण घट्न थालेपछि पर्यटन व्यावसायीहरूले नयाँ पदमार्गमा पर्यटक लैजान सुरु गरेका छन् ।
सडक विस्तार हुँदा धुलो र प्रदूषण बढेको भन्दै पर्यटकको आवागमनमा कमी आएपछि ‘टेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल’ (टान) गण्डकीले ‘राइजिङ’ पदमार्ग भन्दै नयाँपुल-भुकताङ्ले-हम्पाल-घोरेपानी हुँदै पर्यटकहरू लैजान सुरु गरेको हो ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार यो रुटमा कुनै पनि ठाउँमा सडक नपुगेको र पुग्ने सम्भावना पनि नभएकाले पर्यटकको रोजाईमा पर्ने बताउनुभयो । कास्की जिल्लाको नयाँपुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले-डाँडाकमेरे-माटे-जलजला-मोहोरेडाँडा-घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्न थालेको हो ।
दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा अधिकांश वन क्षेत्र पर्दछ । "केही वर्ष पहिलादेखि नयाँ रुटको खोजी गरिएको भए पनि सबै ठाउँमा पदमार्ग निर्माण भइनसक्दा व्यवसायिक रुपमा पर्यटकहरू लैजाने सकिएको थिएन," अध्यक्ष आचार्यले भन्नुभयो, "अब सबै ठाउँमा पदमार्ग सहज भएकाले व्यावसायिक रूपमा रेखाङ्कन गरेर नक्सा तयार गरिएको छ ।" उहाँका अनुसार पर्यटकको बसाइलाई लम्ब्याउन पनि यो रुटले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
यो रुटबाट पर्यटकहरू लैजाँदा वनजङ्गल विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै जङ्गली जनावर समेत पर्यटकहरूको आकर्षण हुने उहाँको भनाइ छ । डाँडैडाडा जाने पदमार्ग भएकाले अधिकांश ठाउँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।
पदमार्ग र ठाउँठाउँमा आवश्यक पूर्वाधारहरू निर्माण भएकाले पछिल्लो समय पर्यटकहरू समेत यही मार्ग भएर जाने गरेका स्थानीय होटल व्यावसायी रन बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार युरोपियन, कोरियन, अस्टेलियन, जर्मन तथा रसियन पर्यटकहरूले यो रुट प्रयोग गर्न थालेका छन् ।
नयाँ पुलबाट घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पर्यटकको आगमन बढ्न थालेको उहाँले बताउनुभयो । करिब १३ वर्षअघि यो रुटको पहिचान गरिएको भमरकोट-घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार नयाँपुल-मोहरिया-ताङले हुँद फलाटे-डाँडाकेटेरी-हम्पाल-जलजला-मोहरेडाँडा-पुनहिल हुँदै घोडेपानीसमम जोड्ने पदमार्ग सञ्चालनमा आइसकेको छ ।
पदमार्गका अधिकांश ठाउँमा पर्यटकहरू बस्ने पूर्वाधार निर्माण भइसके पनि वन क्षेत्रमा होटल लगायतका पूर्वाधार निर्माणमा समस्या हुँदा व्यावसायिक होटलहरू सञ्चालनमा समस्या आएको छ । स्थानीय मोदी गाउँपालिकाले वन क्षेत्र भाडामा लगाउने र पदमार्ग क्षेत्रमा पूर्वाधारमा लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।
"संस्कृति र प्रकृतिले भरिपूर्ण यो पदमार्ग साहसिक गन्तव्यको रूपमा समेत विकास हुँदै गएको छ," उहाँले भन्नुभयो, "अहिले हिउँदको सिजमा दैनिक ५० जना बढीका समूह यो मार्ग भएर जानेआउने गरेका छन् ।" यो मार्गको अधिकांश ठाउँबाट मनोरम हिमश्रृङ्खला, सुन्दर वनजङ्गल, हावापानी, सूर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको उहाँको भनाइ छ ।
विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु. एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिनुभयो । "ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएका छन्", उहाँले भन्नुभयो । हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. ३० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिनुभयो । उक्त पदमार्गलाई व्यवस्थित बनाउन आगामी बजेटमा पनि प्राथमिकता दिने उहाँले उल्लेख गर्नुभयो ।
पदमार्गले पर्वतको मोदी गाउँपालिका–१, २, ३ र ५, जलजला गाउँपालिका–५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, ७ र ८ वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौँसीबोट, भूक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएका छन् । साथै मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो । यसका साथै पर्वतको पातिचौर–क्याङ्ग लेस्पार हुँदै हम्पाल–मोहोरेडाँडा जान पनि सकिने गरी पदमार्गको निर्माण तथा पूर्वाधार समेत निर्माण भएका छन्।
पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाई डाँडा र जलजलामा चिया पसल र रेस्टुरेन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्व जानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।