• ८ माघ २०८१, मङ्गलबार

कर्मचारी एक, जिम्मेवारी तीन जिल्ला

blog

गोकर्ण दयाल

बैतडी, माघ ८ गते  । बैतडी, बझाङ र दार्चुला जिल्लाका चार वटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आइपरेको छ । बैतडी र दार्चुला जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गोविन्द देवकोटाको जिम्मामा बैतडी र बझाङको भवन डिभिजन कार्यालयको पनि जिम्मेवारी थपिएपछि दिनभरि एक जिल्लाको काम सकेर राति हिँडेर बिहान अर्को जिल्ला पुग्नुपर्ने बाध्यता आइलागेको छ ।   

बैतडीबाट बझाङ पुग्न गाडीमा एक दिन लाग्छ । बझाङमा एक दिन बसेर उहाँ भोलिपल्ट दार्चुलाको मालिकार्जुनस्थित तीन करोड रुपियाँको लिफ्ट खानेपानी योजनाको काम हेर्नुहुन्छ । त्यहाँका योजना हेरेर उहाँ खानेपानी र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्ने गर्छ । बैतडी र दार्चुलामा मात्रै खानेपानीका ३४९ वटा योजना छन् । खानेपानीका क्रमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना योजना छन् । दुई जिल्लाका खानेपानी योजना हेर्ने उहाँ एक जना मात्रै इन्जिनियर हुनुहुन्छ ।  

गाउँबस्तीमा आधारभूत खानेपानी पुर्‍याउन सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष बैतडी र दार्चुलाका लागि ४७ करोड रुपियाँ बजेट पठाएको देवकोटाले बताउनुभयो । खानेपानी कार्यालयमा जनशक्ति नहुँदा एक जना करारका सबइन्जिनियर नियुक्त गरी काम गर्नु परिरहेको उहाँले बाध्यता सुनाउनुभयो । 

दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजनमा एक जना डिई, तीन जना इन्जिनियर, चार जना सबइन्जिनियर र चार जना खानेपानी टेक्निसियनको दरबन्दी भए पनि दरबन्दी अनुसारको जनशक्ति नभएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले देवकोटालाई सहरी विकास तथा भवन कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि उहाँ बैतडी र बझाङ जिल्लाका ४८ वटा सहरी योजनाको समेत काम गर्दै आउनुभएको छ । कार्यालयले सरकारी भवन, सहरी सडक, नाला निर्माण जस्ता योजनाको काम गर्दै आएको छ । बैतडी र बझाङ हेर्ने भवन कार्यालयमा पनि एक जना डिभिजनल इन्जिनियर, तीन जना इन्जिनियरको दरबन्दी भए पनि सबै रिक्त छन् । भवनमा तीन जना ओभरसियर भएकाले केही सहज भएको देवकोटाले बताउनुभयो । कार्यालय प्रमुख नहुँदा त्यहाँ कामकाज ठप्प नहोस् भन्ने उद्देश्यले प्रदेश सरकारले दिएको जिम्मेवारी रातदिन गरेर भए पनि पूरा गरिरहेको उहाँले बताउनुभयो ।

जनशक्ति नहुँदा खानेपानीका योजनाको काम गर्न कठिन हुने गरेको छ । एउटा योजनाको नाप, जाँच र विस्तृत अध्ययन प्रतिवेदन बनाउन कम्तीमा पनि १० दिन लाग्ने भएकाले बैतडी र दार्चुलाका ३५० योजना कार्यान्वयन गर्न समस्या हुने गरेको छ । 

बैतडीमा ८५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी पुगे पनि सुरक्षित खानेपानीका दुई वटा योजना मात्रै निर्माण भएका छन् । बैतडी सदरमुकाममा रहेको नगर खानेपानी योजना र पाटन नगर खानेपानी योजनाले मात्रै मध्यमस्तरको खानेपानी प्लान्ट जडान गरेर एक हजार ५०० धारा वितरण गरेको छ । बैतडीमा १५ प्रतिशत घरधुरी अझै आधारभूत खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । 

जिल्लाको मेलौली नगरपालिका १, ७ र ९ नम्बर, सिगास गाउँपालिका १, २, ३ र ४ का अधिकांश बस्तीमा आधारभूत  खानेपानी पुग्न सकेको छैन । मेलौली नगरपालिका–७, काँडा बजारमा एक जर्किन पानीका लागि तीन दिन पालो कुर्नुपर्ने अवस्था रहेको स्थानीय भोजराज भट्टले बताउनुभयो । यसअघि जिल्ला पूर्वाधार कार्यालयका जङ्गबहादुर थापालाई पनि तीन वटा कार्यालयको जिम्मेवारी दिइएको थियो ।