• ८ माघ २०८१, मङ्गलबार

हिउँदे अधिवेशनबाट अध्यादेश पास हुन्छः सञ्चारमन्त्री गुरुङ

blog

लमजुङको जीतास्थित सप्तधारा माविको बार्षिकोत्सव कार्यक्रममा सम्वोधन गर्नुहुँदैं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्विरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ ७ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले माघ १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरेर लागू गरिने बताउनुभएको छ । सोमबार लमजुङको मध्यनेपाल १ जितास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले मुलुकको शासन ब्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनुपरेको बताउनुभयो । 

‘अध्यादेशबारे विभिन्न टिप्पणी गरिएको छ । अध्यादेशको बाटो लियो भन्ने आरोप लगाइएको छ । तर त्यस्तो हैन’ मन्त्री गुरूङले भन्नुभयो, ‘संसद नभएको बेला अध्यादेश ल्याउने संबैधानिक ब्यवस्था छ । संसद नभएको बेला मुलुकमा आर्थिक संकट आयो भने बिखन्डनको कुरा आयो भने राष्ट्रिय स्वाधीनताको विषय आयो भने, ठुलो आपत विपत्ति आयो भने त्यसको सामना गर्न राज्यले नयाँ कानुन ल्याउनुपर्छ । त्यो नयाँ कानुन भनेको अध्यादेश हो ।’ उहाँले संसद अधिवेशन शुरूहुने बित्तिकै अध्यादेशलाई पेश गरिने र पास गरेर लागू गरिने बताउनुभयो । 

उहाँले अध्यादेशबाट कोहि पनि आत्तिनु पर्ने अबस्था नरहेको बताउँदै भन्नुभयो, ‘मुलुकको आवश्यकताको लागि अध्यादेश ल्याएको हो । जनताको हितको लागि ल्याएको हो । शुसासनका लागि हो । ब्यबसायीको हितको लागि हो । उत्पादन बढाउनका लागि हो, व्यापार बढाउनका लागि हो।’

त्यसैगरी मन्त्री गुरुङले शैक्षिक क्षेत्रमा देखिएको समस्या र अस्तब्यस्तता अन्त्य गर्न सरकारले सोंचिरहेको बताउनुभयो । अहिलेसम्म शैक्षिक क्षेत्रको सुधार हुन नसकेकोमा राज्यको तर्फबाट आत्मआलोचना गर्दै यहि सरकारले सुधार गर्ने प्रतिबद्धता जनाने बताउनुभयो ।  

मन्त्री गुरूङले अहिलेको संघीय गणतान्त्रिक ब्यवस्था नै उत्तम ब्यवस्था भएको बताउँदै यहि ब्यवस्थामा रहेर जनताको सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।