• ७ माघ २०८१, सोमबार

राप्ती नदीमा गोही गणना सुरु

blog

राप्ती नदीमा गोही गणना कार्य गर्दै बाँके राष्ट्रिय निकुञ्ज र सिटिजन साइन्टिस्टको संयुक्त टोली । तस्बिर : मन्दिप पंगेनी

गजेन्द्र गुरुङ

खजुरा, माघ ७ गते । बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । यसअघि नदीमा पटकपटक छाडिएका घडियाल गोहीको अवस्थाका बारेमा जानकारी लिनका लागि गणना सुरु गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दिप पंगेनीले यसअघि पटकपटक राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण, निरीक्षणका साथै गणना सुरु गरिएको जानकारी दिनुभयो ।

“राप्ती नदीमा यसअघि पटकपटक घडियाल गोही छाडिएका छन्, शनिबारदेखि गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “शनिबार दुई वटा घडियाल गोही र एउटा मगर गोही फेला पार्‍याैँ, नदीमा गोही रहन सक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिदैछौँ ।”

गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही सिटिजन साइन्टिस्ट सहभागी रहेको उहाँले बताउनुभयो । “गोहीको संरक्षण गर्ने दायीत्व स्थानीय समुदायको पनि हो, हामीले स्थानीय समुदायका केही व्यक्तिलाई यसका बारेमा तालिम दिने र विभिन्न कार्यक्रममा सहभागी बनाएर उहाँहरूलाई गोही संरक्षणका बारेमा जानकारी दिने गरेका र्छाैँ,” उहाँले भन्नुभयो, “गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उहाँहरूले गोहीका बारेमा थप जान्नुहुनेछ र गोही संरक्षणमा उहाँहरू अग्रसर हुनुहुनेछ ।”

बाँके र दाङ जिल्लाको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पंगेनीले बताउनुभयो । “हामीले बाँके र दाङ जिल्लाको सिमानामा पर्ने शिव खोलाबाट गोहीको गणना कार्य सुरु गरेका छौँ, नदीको कुसुम, अगैया लगायतका क्षेत्रमा रहेका घडियालसहित अन्य गोहीको पनि अवस्था जानकारी लिनेछौँ,” उहाँले भन्नुभयो, “हरेक वर्ष गोही ल्याएर छाडेर मात्र हुँदैन, उनीहरूको अवस्था के छ, कति जीवित छन्, उनीहरूको आहाराको अवस्था के कस्तो छ जस्ता कुराहरूको जानकारी सर्वेक्षण, निरीक्षण र गणनाबाट मात्रै लिन सकिने हुँदा केही वर्षयता हरेक वर्ष राप्ती नदीमा गोही गणना गर्दै आएका छौँ ।”

यसअघि राप्ती नदीमा पटकपटक घडियाल गोही ल्याएर छाडिने गरिँदै आइएको छ । गतवर्ष मात्र चितवनबाट १४ वटा घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएका थिए । हरेक वर्ष उनीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ ।