सिराज खान
नेपालगन्ज, माघ ७ गते । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा सोमबार बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
सोमबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५०० देखि ७०० मिटर मात्र भिजिबिलिटी हुँदा नेपालगन्जबाट सोमबार २ः२० बजे दिउँसोसम्म कुनै पनि उडान नभएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले बताउनुभयो ।
उहाँले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा सोमबार बिहनैदेखि विमानस्थल बन्द रहेको बताउनुभयो । बिहान पहाडी जिल्लाहरुमा बढी हवाई उडान हुने गरेका छन् भने सङ्घीय राजधानी काठमाडौंमा पनि उडानहरु हुने गरेका छन् ।
नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा सोमबार ७०० भन्दा बढी भिजिबिलिटी नभएकाले हालसम्म कुनै पनि उडान हुन सकेन ।
नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुईवटा नियमित उडान गर्दै आएको थियो । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा पनि बिहान बढी उडान हुने गरेको थियो ।
नेपालगन्ज विमानस्थलबाट हवाई उडान अवरुद्ध हुँदा काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु विमानस्थल खुले प्रतिक्षामा विमानस्थलमा बसिरहेको जनाइएको छ ।
गत मङ्गलवार पनि शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा दिनभरि हवाई उडान भएका थिएनन् ।