• ७ माघ २०८१, सोमबार

गोरखा चिनाउने चित्र बनाउँदै गोरखा नगरपालिका

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ७ गते । गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन गोरखा नगरपालिका–६ बसपार्कमा गोरखा चिनाउने चित्र बनाउन सुरु गरिएको छ । गोरखा सदरमुकामको बसपार्क नजिक रहेको बिपीचोकसम्मको पर्खालमा गोरखाको इतिहास झल्कने चित्र बनाउने थालेको हो । 

गोरखा नगरपालिकाको केही दिन अगाडि मात्रै गोरखा भ्रमण वर्ष २०२५ को कार्यतालिका सार्वजनिक गर्दै गोरखा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरी पर्यटक आकर्षित गर्न भित्तेचित्र निर्माण गरिएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकरी दिनुभयो । उहाँका अनुसार गोरखा नगरपालिकाको सिमाना आँबुखैरनीदेखि गोरखा सदरमुकामसम्म विभिन्न चोक र भित्तामा गोरखाको पर्यटन प्रवर्धन गर्नेगरी प्राकृतिक, धार्मिक, तथा सांस्कृतिक सम्पदा झल्कने चित्र बनाइने उहाँले बताउनुभयो । 

"अहिले गोरखा नगरपालिकाभित्रका पर्यटकीय गन्त्वयहरु चिनाउन टुरिष्ट गाइडहरु पनि गोरखा नगरपालिकाले राखेको छ", मेयर रानाले भन्नुभयो, “जसले गोरखाको इतिहासको बारेमा सिक्न मन छ, उहाँहरुलाई टुरिष्ट गाइडहरुले समग्र गोरखाको बारेमा विस्तृत रुपमा जानकारी लिन सकिनेछ ।”

नेपालको इतिहास नै गोरखाबाट सुरु हुँदा पनि गोरखाको इतिहासको चर्चा नहुनु दुःखद भएको गोरखा नगरपालिकाले जनाएको छ । जसले बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्यको परिकल्पना गर्ने गोरखाका सपुत पृथ्वीनारायण शाह जन्मेको ठाउँलाई प्रचार प्रसार गर्नका लागि भ्रमण वर्ष २०२५ घोषणा भएको बताइएको छ । 

गोरखामा प्रचारप्रसारको अभावमा आन्तरिक तथा बाह्य पर्यटकहरु गोरखामा भित्रिन नसकेकाले पनि गोरखा नगरपालिकाले बृहत् पर्यटन प्रवर्द्धन कार्यक्रम गर्न लागेको गोरखा नगरपालिकाले जनाएको छ ।