• ६ माघ २०८१, आइतबार

कांग्रेस सभापति कप : नकआउट फुटबलमा सर्वाधिक पुरस्कार

blog

सभापति कप फुटबलबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ ६ गते । नेपाली कांग्रेस अन्तर्गत नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० गतेदेखि दशरथ रङ्गशालामा हुने सभापति कप फुटबलको उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लब भिड्ने भएका छन् ।

समितिले आइबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा ब्वाइजको प्रतिद्वन्द सङ्कटा परेको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । 

जसमा आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) ले प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्य टोलीमा मच्छिन्द्र, नेपाल पुलिस, एपिएफ, एनआरटी र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो । 

यस्तै हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमलाई ५० हजार प्रदान गरिने छ ।  प्रत्यके खेलको प्लेयर अफ दिम्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख रुपियाँ लाग्ने कांग्रेस नेता एवं लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।