सिराज खान
नेपालगन्ज, माघ ६ गते । बर्दिया जिल्लाका विभिन्न तालतलैया र नदीहरूमा जाडोको समयमा बसाइँ सरी आउने र रैथाने पानी चराहरुको सङ्ख्या वृद्धि भएको छ । जिल्लामा गरिएको चरा गणनामा पानी चराको सङ्ख्या बढेको नेपाल पन्छीविद् सङ्घका केन्द्रीय सदस्य एवं चराविज्ञ रामबहादुर शाहीले बताउनुभयो
उहाँका अनुसार गेरुवा नदी कर्णाली नदी र बढैया तालमा चराको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको हो । साइबेरिया लगायत विभिन्न देशबाट जाडो छल्नका लागि आउने पाहुना चराको हरेक वर्ष गणना गर्ने गरिएको छ । यस वर्षको चरा गणनामा बर्दियामा तिन हजार ८८९ वटा जलचर भेटिएको जनाउँदै चराविज्ञ शाहीले तीमध्ये बढैयातालमा सबैभन्दा बढी दुई हजार १४९ वटा, कर्णाली नदीमा ९१८ र गेरुवा नदीमा ८२२ वटा चरा फेला परेको बताउनुभयो ।
नेपाल पन्छीविद् सङ्घका अनुसार गतवर्ष २०८० को चरा गणनामा तीन हजार २०४ र २०७९ को चरा गणनामा दुई हजार १२६ वटा चरा गणना गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष चराका प्रजाति र चराहरू बढी फेला परेको नेपाल पन्छीविद् सङ्घका केन्द्रीय सदस्य एवं चराविज्ञ शाहीले बताउनुभयो । उहाँले बर्दियामा चराको वासस्थानमा समस्या हुँदाहुँदै पनि आगन्तुक चराको सङ्ख्यामा वृद्धि हुनु सुखद रहेको बताउनुभयो ।
बजेट अभावको कारणले बर्दिया जिल्लामा भएका अरू तालतलैयाहरुमा चरा गणना गर्न नसकिएको बताउँदै विज्ञ शाहीले कतिपय जलचराहरु अरू तालतलैयामा समेत फेला पर्ने गरेको जनाउनुभयो।
सरकारले चरा गणनालाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । पानीको कमी, असुरक्षित वासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा र पर्यावरणमा परेको असरका कारण चराको वासस्थान सङ्कटमा पर्दै गएको जनाइएको छ ।
पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको वासस्थान सङ्कटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू सङ्कटमा पार्दै गइरहेको विज्ञ शाहीको भनाइ छ । उहाँका अनुसार नेपालमा ८९७ प्रजातिको चरामध्ये २०० प्रजातिका जलपक्षी छन् ।
नेपालमा हरेक वर्ष १५३ प्रजातिका चरा बसाइँ सरेर आउने गरेको तथ्याङ्क रहेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।