भैरहवा समाचारदाता
भैरहवा, माघ ६ गते । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमास्तम्भको मर्मतसम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमणलगायतका विषयमा छलफल गर्दै सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिचको डिआइजीस्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
वसन्तपुरस्थित लुम्बिनी केबुलकारको माथिल्लो स्टेसनमा रहेको कामाख्या मन्दिरपरिसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी वाहिनी मुख्यालयले आयोजना गरेको छैटौँ समन्वयात्मक बैठकले दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचना संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाइ तथा सौन्दर्यीकरण गर्ने निर्णय भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले जानकारी दिनुभयो ।
बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलीगठ्ठा, लागुऔषध तथा प्रतिबन्धित औषधीलगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रूपमा छलफल भएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद तथा विविध अभ्यासलाई समेत निरन्तरता दिइने बैठकबाट सहमति गरिएको उहाँको भनाइ छ ।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पालले छलफलका क्रममा उठेका सबै विषयको कार्यान्वयनका सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको बताउनुभयो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनाले नेपाल–भारत खुला सीमासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।