सल्यान समाचारदाता
सल्यान, माघ ६ गते । जिल्ला अस्पताल सल्यानको निर्माणाधीन भवनको काम १० महिनादेखि अलपत्र परेको छ । १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गर्न तीन वर्षअघि सुरु गरिएको भवन निर्माण कार्य ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र अवस्थामा रहेको हो ।
२०७७ सालमा सुरु भई २०८० चैतसम्म सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा आरोग्य सुवेदी जेभी कम्पनीलाई दिइएको थियो । गत वैशाखयता भने निर्माण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । ठेकेदार कम्पनीले हालसम्म ७५ प्रतिशत काम सम्पन्न गरेको दाबी गरिए पनि बाँकी २५ प्रतिशत काम अझै रोकिएको छ ।
अहिलेसम्म झन्डै ११ करोड भुक्तानी लिइसकेको तर निर्माण कार्य अघि बढ्न सकेको छैन । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगरले निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले बैङ्क ग्यारेन्टी नबुझाएको र म्याद थपका लागि आवश्यक कागजी प्रक्रिया पूरा नगर्दा निर्माणमा ढिलाइ भएको बताउनुभयो ।