• ६ माघ २०८१, आइतबार

सडक स्तरोन्नति अलपत्र

blog

अमरगढी समाचारदाता 

डडेलधुरा, माघ ६ गते । डोटीको गैराबजारदेखि डडेलधुराको गाखेतका बस्ती जोड्ने ग्रामीण सडक स्तरोन्नतिको काम दुई वर्षदेखि अलपत्र परेको छ । सडक स्तरोन्नतिका लागि २०६८ माघमा ठेक्का सम्झौता गरिएको भए पनि निर्माणको काम भएको छैन । सडक स्तरोन्नतिको काम अलपत्र छोडिएपछि गाखेतका दर्जनौँ बस्तीका हजारौँ स्थानीयलाई आवतजावतमा निकै जोखिम मोल्नु पर्ने बाध्यता छ । 

अत्तरिया–डडेलधुरा जोड्ने भीमदत्त राजमार्गको डोटी जिल्लामा पर्ने जोरायल गाउँपालिका–१ को गैरा बजारबाट डडेलधुराको आलीताल गाउँपालिका १ र २ नम्बर वडाका दर्जनौँ बस्ती तत्कालीन गाखेत गाविस जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र छोडिएको छ । 

गाखेतबाट आलीताल गाउँपालिका मुकामसमेत जोड्ने मुख्य सडकको मध्यभागको सडकखण्ड स्तरोन्नति हुन नसक्दा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । कृषि उत्पादन र पशु उत्पादनका लागि अग्रिणी क्षेत्र गाखेतमा उत्पादित कृषि र पशु उपजले बजारसमेत पाउन सकेको छैन । ठेक्का सम्झौता भएर पनि समयमा काम नगरिएपछि गाखेतवासी निकै आक्रोशित बनेका छन । सडक डिभिजन कार्यालय कुलपाते डोटीले निर्माण कम्पनी जेडिएमआर बिल्डर्स काठमाडौँसँग सडक स्तरोन्नतिका लागि करिब दुई करोड बराबरको ठेक्का सम्झौता गरेको थियो । 

२०७९ जेठ ३० भित्र काम पूरा गरिसक्ने गरेर २०७८ माघ २६ गते ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो तर ठेक्का सम्झौता अनुसारको समयभन्दा दुई वर्ष बढी बितिसक्दासमेत काम नगरेपछि स्थानीय आक्रोशित भएका हुन् । 

मध्यपहाडी क्षेत्रको गैरा–गाखेत सडकको भौगोलिक अवस्था र जाँदा ओरालो, आउँदा उकालो भिरको साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिमपूर्ण छ । सडकको स्तरोन्नति नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु भएको छ । वडा नम्बर १ र २ सँग जोड्ने अन्य वैकल्पिक सडक पनि छैनन् । वडा नम्बर २ का वडाध्यक्ष प्रमोद मल्लले भन्नुभयो, “गाखेतका बस्ती तराई, पहाड जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्गबाट धेरै टाढा छन् ।” 

समयमै काम पूरा गराउन वडाध्यक्ष प्रमोद मल्लले पटक पटक सडक डिभिजन कार्यालय कुलपाते, निर्माण कम्पनी र डोटी तथा डडेलधुराका प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक समन्वयका लागि पहल गरिरहेको बताउनुभयो । वडाध्यक्ष मल्लका अनुसार माघ ४ गते वडापालिकाको बैठक बोलाई अबको एक महिनाभित्र निर्माण कार्य अगाडि नबढाइए वडा नम्बर १ र २ का जनतासहित आन्दोलनका लागि भीमदत्त राजमार्गको गैरा बजारमा सडक अवरुद्ध गर्न बाध्य हुने चेतावनीसहितको निर्णय गरिएको छ । 

वडा पालिकाको निर्णयसहित सरोकारवाला सडक डिभिजन कार्यालय डोटी, जिल्ला प्रशासन कार्यालय डोटी र डडेलधुरालाई समेत निर्माणलाई अगाडि बढाउन निर्माण कम्पनीलाई आवश्यक कानुनी कारबाही गरेर अन्य प्रक्रियाबाट निर्माण कार्य अगाडि बढाउन वडाको निर्णयसहितको पत्र पठाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

निर्माण कम्पनीका सञ्चालक रविकुमार सिंहसँग यस विषयमा बुझ्दा ठेक्का सम्झौता अनुसारको काम करिब ११ किलोमिटरको रहेको बताउनुभयो । हालसम्म सडक स्तरोन्नतिको काम पाँच किलोमिटर पूरा भइसकेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयले काम गरेबापतको रकम भुक्तानी नदिएकाले बाँकी काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ ।