बाजुरा समाचारदाता
बाजुरा, माघ ६ गते । बाजुरामा पटक पटक आउने भूकम्पबाट यहाँका अधिकांश गाउँबस्तीमा घर चिरा चिरा पर्ने गरेका छन् । भूकम्पले चिरा परेका ती घर अहिले यहाँका स्थानीयलाई बास बस्नलायकका नै छैनन् । भूकम्पपीडितले घर पुनर्निर्माणका लागि पटक पटक सरकारलाई माग गर्दै आएको भए पनि उनीहरूको त्यो माग भने अहिलेसम्म सरकारले पूरा गर्न सकेको छैन ।
यहाँका स्थानीयको गरिबी तथा आर्थिक अभावका कारण आफूलाई सुरक्षित बास बस्नका लागि घर निर्माण गर्न सक्ने अवस्था नभएपछि उनीहरूले सरकारसँग घरबासका लागि माग राख्दै आएका हुन् । जति पटक भूकम्प आउँछ त्यति पटक यहाँका घर झन्झन् चर्किंदै जाने गरेका छन् । तैपनि ती भूकम्पले जति पटक घर चर्कायो त्यति नै पटक उनीहरू ती घर टालटुल गरेर त्यसैमा बस्ने गरेका छन् । २०७७ सालमा ऋण जोहो गरेर बनाएको घर २०७९ सालमा आएको भूकम्पले चर्किएको खप्तडछेडेदह गाउँपालिका–५, डोगडीका मानबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पटक पटक आउने भूकम्पले घर चर्किंदै छ । म त्यसलाई टालटुल गर्दै छु ।” भूकम्पबाट जोखिममा परेका घरका स्थानीयलाई पुनर्निर्माणका लागि रकम दिने भनेको हो तर अहिलेसम्म कतैबाट मैले रकम पाएको छैन उहाँले बताउनुभयो । बाजुरामा २०७९ देखि २०८१ सालमा पटक पटक आएको भूकम्पले यहाँका तीन हजार ९९९ घर जोखिममा रहेका छन् ।
२०७९ सालमा आएको भूकम्पले सबैभन्दा बढी खप्तडछेडेदह गाउँपालिकामा असर पारेको थियो भने २०८० सालमा सबैभन्दा बढी गौमूलमा क्षति भएको थियो । २०८१ सालमा आएको भूकम्पले जगन्नाथ गाउँपालिकामा क्षति गरेको छ ।
यहाँका हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तडछेडेदहका अधिकांश घर माटो र ढुङ्गाले निर्माण गरिएका छन् । यी घर पनि ५० वर्ष पुराना छन् । अहिले भूकम्पबाट ती घरलाई नै ठुलो क्षति हुने गरेको छ । पटक पटक भूकम्पले यसरी स्थानीयका घरमा ठुलो क्षति गर्दै आएको भए पनि सरकारले पुनर्निर्माणको काम गर्न सकेको छैन ।
यहाँका स्थानीयको टहरा निर्माणका लागि केही रकम आएको थियो । त्यो रकम गौमूलमा मात्र वितरण गरेका थियौँ । अन्य ठाउँका लागि फेरि रकम माग गरेको हो तर थप रकम नआएकाले भूकम्पपीडितलाई समेत रकम दिन नसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।