• ६ माघ २०८१, आइतबार

विपन्न २०० परिवारलाई न्यानो कपडा

blog

विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गर्नुहुँदै पूर्वमन्त्री भगवती चौधरी । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ ५ गते । सुनसरीको गढी गाउँपालिका वडा २ का विपन्न तथा सुकुम्बासी २०० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । गढी २ औरवानी पश्चिम टोल र गढी टोलका विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरेको ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) सुनसरीले जनाएको छ ।

पछिल्लो केही दिनदेखि तराई–मधेशमा चलेको शीतलहरसँगै बढेको चिसो र अत्यधिक जाडोलाई मध्यनजर गरी मेट लाइफ इन्सुरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले सुनसरीका २०० परिवारलाई न्यानो कपडा वितरण गरेको हो । 

फरवार्डले आयोजना गरेको कार्यक्रमको संयोजन फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गरेको थियो । कार्यक्रममा प्रमुख अथिति पूर्वमन्त्री भगवती चौधरीले विपन्न परिवारका सदस्यलाई न्यानो कपडा वितरण गर्नुभयो ।