बोमलाल गिरी
नवलपुर, माघ ६ गते। नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ। स्कुल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटना बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट्राफिक चेकिङ्ग सुरु गरेको हो।
नवलपुरका गैडाकोटमा पहिलो पटक गरिएको ट्राफिक चेकिङमा ९ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले बताउनुभयो।
स्कुल बसमा खास गरेर सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरिएको, कतिपय बसको बिलबुकसमेत नबोक्ने गरेको र नवीकरण नभएको पाइएको बन्जाराले बताउनुभयो। गैंडाकोट २ स्थित पूर्व पश्चिम राजमार्गमा बिहान ९ बजेदेखि साढे १० र बेलुकी ३ः४० देखि साढे ५ बजेको समयमा चेकजाँच गरिएको हो।
विद्यालय बस सञ्चालन निर्देशिका २०७४ को मापदण्ड विपरीत सञ्चालनमा आएका एरोमा, एपेक्स, मामाघर एकेडेमी, साईनिङ स्कूल र अक्स्फोर्ड कलेजका गरी ४ विद्यालयका ९ वडा गाडी कारवाहीमा परेका बन्जराले जानकारी दिनुभयो।
कारवाहीमा पर्नेमा एरोमा कलेज चितवनका पाँचवटा, एपेक्स एकेडेमी चितवन, साईनिङ स्कूल गैंडाकोट, अक्स्फोर्ड कलेज गैंडाकोट र मामाघर एकेडेमी कावासोतीका १–१ वटा गाडी कारवाहीमा परेका हुन्। मापदण्डअनुसार नचलाइएका बसलाई यातायात व्यवस्था ऐन अनुसार कारवाही हुने बन्जराले बताउनुभयो।
विद्यालय बस सञ्चालन निर्देशिका बमोजिम गाडीमा प्राथमिक उपचार किट, फायर एक्सटिंगीशर, आपतकालिन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्न योग्य नरहेको पाइएको प्रहरीले जनाएको छ।