गुणबहादुर रोका
सुलीकोट, माघ ५ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालय तहबाट व्यावसायिक शिक्षा सुरु गर्ने बताउनुभएको छ। शनिबार नवज्योति मावि डण्डीडाँडाको ५० औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।
समग्र शिक्षा क्षेत्रको सुधारको लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोगमा मात्र दक्ष युवा शक्ति नेपालबाट विदेश रोक्न सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ। अहिलेको शिक्षा स्वारोजगारमूलक नभएकाले संविधानमै व्यवसायिक शिक्षाको व्यवस्थापन गर्नुपर्ने उहाँको जिकिर छ।
अहिले ग्रामीण इलाकाका सामुदायिक विद्यालयमा राज्यको स्रोत र साधनबाट ठुलाठुला भवन बन्ने गरे पनि विद्यार्थीको सङ्ख्या भने दिनप्रतिदिन घट्दै गएकाले प्रदेश सरकारले राज्यको खर्च कम गराउने उद्देश्यले गण्डकी प्रदेशका सामुदायिक विद्यालयलाई गाभ्ने नीति ल्याउने उहाँले बताउनुभयो।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नवज्योति मावि डण्डीडाँडाको स्मारिकासमेत विमाेचन गर्नुभएको छ।