• ५ माघ २०८१, शनिबार

गुल्मीमा अनलाइनबाट नागरिकता सिफारिस

blog

गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम ।

रमेश विश्वकर्मा 

गुल्मी, माघ ५ गते। गुल्मीमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिस दिन थालिएको छ। नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकतामा एकरुपता ल्याउने उद्देश्यले गृह मन्त्रालयको योजना अनुरुप यहाँका वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस थालिएको हो। 

गत पुस २५ गते यहाँका ९३ वटै वडाका वडा अध्यक्ष, वडा सचिव, स्थानीय तहका सूचना प्रविधि अधिकृत र जिल्ला प्रशासन कार्यालयका नागरिकता फाँटमा कार्यरत कर्मचारीलाई भर्चुअल माध्यमबाट अनलाइन मार्फत नागरिकता सिफारिससम्बन्धी तालिम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो। 

दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा सुरुमा रेसुङ्गा नगरपालिकाका सबै वडा कार्यालयबाट अनलाइन सेवा प्रदान गर्नका लागि वडा अध्यक्षलाई पासवर्ड प्रदान गरिएको छ। 

नागरिकता सिफारिस अनलाइन प्राणालीलाई माघ महिनाभित्रमा गुल्मीका सबै वडामा कार्यान्वयन गर्ने तयारी प्रशासन कार्यालयले गरेको छ। सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजात लिएर वडामा गएपछि वडा कार्यालयले प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने उहाँले बताउनुभयो। 

अनलाइन मार्फत आएको सिफारिसमा सम्पूर्ण विवरण स्वतः प्रणालीमा आउने हुँदा धेरै कागजात स्क्यान गर्न नपर्ने नागरिकता फाँटमा काम गर्ने एक जना कर्मचारीलाई प्रशासनको अन्य काममा लगाउन सकिन्छ। 

अनलाइनबाट नागरिकता सिफारिसले जालसाजीसँगै कागजात अधुरो हुने कुराको निरुत्साहित, कुनै विवरण थपघट गर्न नमिल्नुका साथै अभिलेख व्यवस्थित हुने उहाँको भनाइ छ। 

अनलाइनबाट नागरिकताको सिफारिस प्रभावकारी भएमा नागरिक र प्रशासनलाई सहज हुनुका साथै अभिलेखसमेत व्यवस्थित हुनेछ। नागरिकलाई सरल र सहज ढङ्गबाट नागरिकता प्रदान गर्नका लागि प्रशासन कार्यालयमा विभिन्न सुधारात्मक कार्य गरिएको छ। जिल्ला प्रशासनमा दुर्गमबाट सेवा लिन आउने नागरिकलाई विशेष प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो। 

अनलाइन प्रणालीबाट सिफारिस भएर आएका नागरिकता जारी गर्दा त्रुटि नहुने हुँदा नागरिकता जारी गर्न सहज हुने प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बताउनुभयो। अनलाइनबाट सिफारिस लिनुभएका सेवाग्राही लाइन बसी नागरिकता लिनुपर्ने बाध्यताको क्रमशः अन्त्य हुने उहाँले बताउनुभयो। हालसम्म रेसुङ्गा नगरपालिकाभित्रका वडा कार्यालयले अनलाइन प्रणालीबाट १२ वटा नागरिकता सिफारिस गरिसकेको छ। नागरिकता प्राप्तिका लागि आएका अनलाइन सिफारिसको आधारमा प्रशासनले नागरिकता जारी गर्ने प्रक्रिया सुरु गरेको हो।