• ५ माघ २०८१, शनिबार

समाजवादी मोर्चासँग सहकार्य हुँदैन : जसपा अध्यक्ष यादव

blog

लहान सहिदपार्कमा सहिदहरुलाई माल्यापर्ण गर्नुहुँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, माघ ५ गते ।
जनता समाजवादी नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरुको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य नहुने बताउनुभएको छ । बलिदानी दिवसको अवसरमा लहानको मुख्यचोकमा रहेको रमेश महतो सहिद पार्कमा रहेका सहिदहरुलाई मल्यापर्ण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मधेशवादी दलहरुसँग विगतदेखि नै एकता विभाजन भइरहेको श्रृङ्खला चलेपनि अब एकता र सहकार्यका लागि फेरि गृहकार्य हुने सम्भावना रहेपनि कम्युनिष्टहरुले नेतृत्व गरेको समाजवादी मोर्चामा जाने कुनै सोच नरहेको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, ‘‘कतिपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास गर्ने ? उहाँसँग सहकार्य र मोर्चा बनाएर धोका खाइसकेकाले विश्वास गर्ने कुनै आधार नै छैन । अगाडिबाट एकताको कुरा गर्ने पछिबाट छुरा हान्ने प्रवृति राख्ने प्रचण्डको बेलीमा कुनै भरोसा छैन । अहिले समाजवादी मोर्चाको बैठकमा जाने औचित्यपनि रहेन ।’’

जनमत पार्टी, लोकतान्त्रिक समाजववादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्यको कतिको सम्भावना रहेको सञ्चारकर्मीहरुको जवाफमा अध्यक्ष यादवले भन्नुभयो, ‘‘मधेशवादी दलहरुसँग एकता र सहकार्यको प्रवल सम्भावना छ । विगतमा भएका कमि कमजोरीहरुबाट पाठ सिकेर एकता वा मोर्चाको साकारात्मक वातावरण बन्दै गएको छ ।’’ मधेशवादी दलहरु फुटेपछि मधेशी जनतामा निरासा छाएकै अनुभूति आधारभूत सङ्गठन निर्माणको क्रममा गाउँगाउँ पस्दा एकताका लागि नेता कार्यकर्ताहरुबाट सुझाव आएको उहाँले बताउनुभयो ।

मधेश आन्दोलनमा सहादात प्राप्त गरेका सहिदहरुले देखेका सपना पूरा नभएसम्म संविधान संशोधनका लागि आवाज उठाइरहने प्रेरणा र प्रण गर्नका लागि सहिद पार्कमा माल्यापर्ण गर्न आएको अध्यक्ष यादवले स्पष्ट गर्नुभयो ।

अध्यक्ष यादव माल्यापर्ण गरेर गएको केहि समयमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहिदहरुलाई माल्यापर्ण गर्दै सम्पूर्ण मधेशी दलहरु गेलबन्द हुनुको अर्को कुनै भरपर्दो विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा सङ्घीय सांसद राज किशोर यादव, मधेश प्रदेशसभा सदस्यहरु क्रमशः राजकुमार गुप्ता, ललिता दास विद्रोही लगायतकाहरुले माल्यापर्ण गरेका गर्नुभएको थियो ।

यता सहिद विजय सहनीका पिता लक्ष्मी सहनी, बेचन यादवका पत्नी रामपरी यादव र मोहम्मद अनिसका माता पिता, रमेश महतोको पिता रयिबा महतो र प्रमेद सदायका पिता बालेश्वर सदायले सहिद परिवारलाई दिएको रोजगारी खोसिएको र लहानमा बलिदानी दिवस माल्यापर्णमा मात्रै सिमित भएको सामूहिक रुपमा गनुनासो गर्नुभयो ।