अविनाश चौधरी
धनगढी, माघ ५ गते । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपिएफले जित निकालेको छ ।
आज बिहान खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हराएको हो । एपिएफको जितमा कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४५ बलमा १० चौकाको मद्दतले ५८ रन बनाउनुभयो ।
उहाँ प्लेयर अफ द म्याच घोषित हुनुभयो । त्यस्तै, ममता चौधरीले नटआउट ३६ रनको योगदान दिनुभयो । कविता जोशीले अविजित १३ रन बनाउनुभयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभर खेल्दै दुई विकेटको नोक्सानमा १२६ रन बनाएको थियो ।
बलिङ गर्दै सुदूरपश्चिमका जानकी थापाले मात्रै एक विकेटको सफलता हात पार्नुभएको थियो । सुदूरपश्चिमका ऋतु कनौजिया, कविता कुँवरलगायतका पाँच जना बलर विकेट लिन सक्नुभएन ।
जवाफी ब्याटिङमा सुदूरपश्चिमले निर्धारित १८ ओभर खेल्दै ६ विकेटको नोक्सानमा ६७ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि कबिता कुँवरले २९ रन बनाउँदा अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन । सुदूरपश्चिमको जित यात्रालाई रोक्ने क्रममा एपिएफका कप्तान इन्दु बर्मा र कविता जोशीले दुई–दुई बिकेट लिनुभयो । त्यस्तै, सबनम राईले एक विकेट लिनुभयो ।