सुजल श्रेष्ठ
प्युठान, माघ ५ गते । जिल्लाभित्रका रुटमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा यातायात व्यवसायी, यातायात कार्यालयका प्रतिनिधि तथा सरोकारवालाकाबिच भएको छलफलबाट जिल्लाको सबैखाले सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको हो ।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले पक्की सडक, ग्राभेल र कच्ची सडकको वर्गीकरण गरेर भाडादर निर्धारण गरिएको बताउनुभयो । निर्धारण गरिएको भाडादरअनुसार अब सानो सवारीसाधन जिपले पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपियाँ, ग्राभेल सडकमा ११ रुपियाँ, कच्ची सडकमा प्रतिकिलोमिटर १४ रुपियाँ भाडा लिन पाउनेछन । यस्तै ठुला सवारी बसले पक्की सडकमा प्रतिकिलोमिटर ६ रुपियाँ, ग्राबेल सडकमा ८ रुपियाँ र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपियाँ भाडादर निर्धारण गरिएको जिसीले जानकारी दिनुभयो ।
राष्ट्रिय लोकमार्गका हकमा भने प्रचलित कानुनअनुसारकै भाडादर कायम हुने उहाँले जानकारी दिनुभयो । नयाँ भाडादर कायम भएसँगै जिल्लामा हालको भाडादरमा केही हेरफेर भएको छ । पहिलेको तुलनामा जिल्लामा सार्वजनिक सवारीसाधनको भाडादर तुलनात्मक रुपमा घट्ने नमस्ते गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष लिलाप केसीले जानकारी दिनुभयो ।
हाल बाग्दुला मच्छी १२ किलोमिटर सडकखण्डमा चल्ने सवारीसाधनले १३० रुपियाँ भाडा लिँदै आएकोमा अब ९६ रुपियाँ भाडा लाग्नेछ । सबैभन्दा धेरै भाडा लाग्ने बाग्दुला–स्याउलीवाङ ३४ किलोमिटर सडक खण्डमा अब यात्रुले जिपमा यात्रा गर्दा ४ सय २८ रुपियाँ मात्र भाडा तिर्नुपर्न छ । पहिले बाग्दुलादेखि स्याउलिवाङ ३४ किलोमिटर सडक खण्डमा यात्रा गर्दा ७ सय २० रुपियाँ भाडा तिर्नुपर्ने बाध्यता थियो ।