• ५ माघ २०८१, शनिबार

भोक ! (कविता)

blog

जागेको छ मिठो भोक तृप्ति छैन कुनै दिन

सपना छन् मिठा मेरा, कर्म दुष्कर्म हुन सुन ।

जनता विचार सारा हाम्रै पग समात्दछन् 

छोडुँ खै कसरी सत्ता मेलबेमेल मस्त छन् ।।


बाँड्दै छु सपना मिठा देश विकास चाहना

अल्झिन्छन् जनता सारा बुझ्दैनन् यी त बाहना ।

सत्तामोह सधैँ मेरो स्वार्थका बसमा परी

चुच्चे ढुङ्गो उही टुङ्गो घुमेको छ वरिपरी ।।


रित्तियोस् देशको वित्त चिन्ता छैन कुनै दिन

विरोधमा कुनै शब्द सुन्ने सक्दिन खै किन

प्रधानशत्रु मुद्दामा, मिल्छौँ स्वार्थ जुधेपछि

चित्र विचित्र छन् हाम्रा योग–वियोगका गति 


मिल्दैनन् भावना हाम्रा हामी शत्रु समान छौँ

अपमान अनादर कटाक्ष सब भोग्दछौँ ।

स्वार्थका बसमा पर्दा मिलेका छौँ जता पनि

हेर्दछन् जनता हाम्रा मूक दर्शक झैँ बनी  ।।


बुद्धिले जिउने केही बुद्धिजीवी भने पनि,

जिब्रा छन् बुद्धिमा उन्का लट्पटिन्छन् जता पनि

हेर्दैनन् कि कतै दर्पन आफूलाई त चिन्नु नि,

महाज्ञानी म हुँ भन्छन् अरूभन्दा महा गुणी ।


शिक्षा सेवा गरेँ मैले म यौटा राष्ट्र भक्त हुँ

भनी दाँज्दै बसेका छन् कर्मवीर स्वयम् बनी

तपाईं अरूले भन्दा राम्रो हुन्छ सधैँ भरी

मपाईं बोक्दछन् इन्द्र सद्बुद्धि देउन हे हरि ।।


धारा प्रवाह भाषामा के बोल्छन् बुझ्छ को र खै 

भोको भाव कठै तिनको मन सन्तुष्ट हुन् क्यै ?

बताई देऊ हे कृष्ण कसरी तृप्त हुन्छ ऊ

मुक्ति मार्ग सँगालेर बाँचोस् आनन्दले सधैँ ।।