गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । नेकपा (एमाले) का महासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री शंकर पोखरेलले साना दलहरु अध्यादेशको त्रासमा रहेको बताउनुभएको छ । पार्टी बलियो नभएपछि त्यस्तो त्रास हुनेगरेको उहाँको बुझाइ छ ।
प्रेस चौतारी नेपालद्वारा शुक्रबार यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । समाजवादी प्रेस संगठनका नेतृत्वसहित पदाधिकारी, सदस्यहरुलाई प्रेस चौतारीमा स्वागत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
यसअघि सत्ताको नेतृत्वमा रहँदा २० प्रतिशतको व्यवस्थासहित अध्यादेश ल्याएर नेकपा (एमाले) लाई टुक्र्याएकाहरु अहिले सरकारले ल्याएको अध्यादेशबाट त्रसित भएको उहाँले चर्चा गर्नुभयो । जनताको रोजाइको पार्टी एमाले भएकाले एमालेलाई फुटाएर पनि केही फरक नपरेको उहाँले बताउनुभयो । माधव नेपाल नेतृत्वको पार्टी विस्तारै समाप्त हुने उहाँको भनाइ छ ।
नेकपा (एस) पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा जहिल्यै स्वागत हुने चर्चा गर्दैै उहाँले नेता माधवकुमार नेपालले अक्षम्य गल्ती गरेकाले उहाँका लागि एमालेको ढोका भने खुला नहुने उहाँले चर्चा गर्नुभयो । आफूले गरेको गल्तीमा उहाँले माफी मागेमा मात्र विचार गर्न सकिने उहाँको भनाइ छ ।
वर्तमान अवस्थामा देशको नेतृत्वकर्ता दल नेकपा (एमाले) भएको र पार्टीको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा भएका बेला विरोधीहरुले चौतर्फी घेराबन्दी गरिरहेको उहाँको भनाइ छ । सो घेराबन्दीविरुद्ध प्रतिवादमा लाग्न उहाँले प्रेस चौतारी नेपालसहित सिङ्गो पार्टी पङ्तिलाई आग्रह गर्नुभयो ।
‘केपी शर्मा ओलीमाथि हुने घेराबन्दी देश र राष्ट्रियता विरुद्धको घेराबन्दी हो, देश र सार्वभौमसत्ता विरुद्धको घेराबन्दी हो, अराजकतावाद किमार्थ स्वीकार्य छैन’ महासचिव पोखरेलले भन्नुभयो, “समृद्धिको यात्राका लागि राजनीतिक स्थायित्व अनिवार्य सर्त हो, एमाले निर्णायक शक्ति बनेमा मुलुकको स्थायित्व सम्भव छ ।” अहिले एमाले बलियो मात्र रहेको तर निर्णायक शक्ति नरहेको उहाँले प्रष्ट पार्नुभयो । आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।
जनताले एजेण्डाको आधारमा दललाई छान्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “एमालेको लक्ष्य समाजवादमा पुग्ने हो, कम्युनिष्टको अनेक पसल खोलेर समाजवादमा पुग्न सम्भव छैन, सबै कम्युनिष्ट शक्तिहरु एमालेमा आएर समाजवादको बाटो तय गर्नमा सहयोग गर्नुपर्छ । म सबैलाई त्यसका लागि आव्हान गर्दछु ।”
अर्को प्रसङ्मा महासचिव पोखरेलले नेता भीमबहादुर रावललाई पार्टीबाट निस्काशन गरेर पार्टीले सहयोग गरेको बताउनुभयो । पार्टीमा भएर पनि निस्कन नसकेको र नयाँ बाटो तय गर्न नसकेको अवस्थामा उहाँका लागि अवसर निर्माण गरिदिएको उहाँले चर्चा गर्नुभयो । भीम रावललाई पार्टीलेभन्दा पनि उहाँ आफ्नै क्रियाकलाप र हर्कतका कारण बाहिरिनुपरेको उहाँले बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयो । व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गर्दै जाँदा पदले खोज्नेगरेको बताउँदै उहाँले भन्नुभयो, “व्यक्तिले पदको खोजी गर्ने होइन, राम्रो काम गरेमा पद आफै व्यक्तिलाई खोज्दै आउँछ । चौतारीमा आवद्ध पत्रकारले त्यसमा ध्यान दिनुपर्छ ।”