• ५ माघ २०८१, शनिबार

'सहिद परिवारलाई शिक्षा स्वास्थ्य साथै रोजगारीको व्यवस्था हुनुपर्छ'

blog

मधेश प्रदेशको गृहमन्त्रालयले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखी सहित प्रदेशसभा सदस्यहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, माघ ४ गते । राज्यले सहिदको सम्मानका साथै सहिद परिवारलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिनुभएको छ । 

माघ पाँच गते मधेश प्रदेश सरकारले मनाँउदै आएको सातौं वलिदानी दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँन्स प्रदेशसभा सदस्यहरुले सहिदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था आएको भएपनि सहिद र सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको आरोप लगाउनु भएको थियो। 

नेपाली काँग्रेस संसदीय दल मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सहिद परिवारलाई राहतको रुपमा केही रुपियाँमा गाइ भैँसी दिएर तिनीहरुको समस्या समाधान नहुने भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यले नीति बनाएर ठोस काम गर्नु पर्नेमा जोड दिनुभयो । 

नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले सहिद परिवारको समस्या समाधानका लागि प्रदेश सरकारले सहिद प्रतिष्ठान गठन गरेपनि अधिकार सम्पन्न नभएको भन्दै प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीयदलका प्रमुख सचेतक राम अशिष यादवले राज्यले सहिद परिवारको परिपुरनको व्यवस्था गर्नु पर्ने भन्दै सरकारी सेवामा शहिद परिवारको लागि विशेष आरक्षणको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो । 

लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य रुपा यादवले सहिदका छोरा छोरीको उज्वल भविष्यका लागि प्रदेश सरकारले एउटा छुटै कोषको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागिहरुले २०३६ सालको आन्दोलनको क्रममा मिथिला राज्यको माग गर्दै आन्दोलनमा रहेका डा.लक्ष्मी नारायण झालाई वेपता बनाइएपछि हालसम्म उनको अवस्थावारेमा कुनै अत्तोपत्तो नभएको भन्दै प्रदेश सरकारले एउटा छुटै उच्चस्तरीय समिति गठन गरी खोजबिन गर्नुपर्ने माग गरेका थिए । 

कार्यक्रममा जसपा नेपालका बच्चा यादव अहिर, नेपाली काँग्रेसका जीवछी यादव, नेकपा एमालेका शारदा थापा, राप्रपाका कन्चन बिच्छा सहितका प्रदेशसभा सदस्यहरु र नीति आयोग मधेश प्रदेशका सदस्य डा.शिला मिश्र, रामचन्द्र यादव सहितकाले शहिद परिवारको समस्या समाधानका लागि राज्यले गर्नु पर्ने कामकाजको विषयमा आफनो धारणा राख्नु भएको थियो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले छलफलको क्रममा सहभागिहरुवाट आएका सुझावहरुलाई आत्मसाथ गरी मन्त्रालयले शहिदपरिवारकोलागि अगामी दिनमा कार्यक्रमहरु तय गर्ने बताउनुभयो । उहाँले सहिदको सपना पुरा गर्न र सहिद परिवारको समस्या समाधानका लागि हामीले प्रयास सुरु गरेको भन्दै मन्त्रालयको एकलो प्रयासले मात्रै सम्भव नहुने धारणा राख्नुभयो । 

उहाँले हामीले थालेको प्रयासलाई सफल पार्नका लागि विभिन्न राजनीतिक दल , प्रदेशसभा सदस्य र कर्मचारीको पनि भूमिका त्यतिकै रहेको बताउनुभयो। कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यन्याधिवक्ता सुरेन्द्र महतोले सहिदको सपना र वर्तमान उपलब्धीको विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।