• ४ माघ २०८१, शुक्रबार

कोइलाबास नाकालाई सक्रिय बनाइने

blog

भारतको तुलसीपुरमा देउखुरी उद्योग बाणिज्य संघ र भारतको तुलसीपुरका व्यापारी नेतृत्व विचको छलफल । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, माघ ४ गते । नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ गर्दै आर्थिक र सांस्कृतिक सहकार्यलाई अघि बढाउन कोइलाबास नाकालाई पुनः सक्रिय बनाउनुपर्ने आवश्यकता प्रष्ट देखिएको छ । 

भारतको तुलसीपुरमा नेपाल भारतका व्यवसायिक नेतृत्वको दुइपक्षिय छलफलले दुई देशबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन कोइलाबासको महत्वलाई केन्द्रबिन्दुमा राखेको छ । देउखुरी उद्योग वाणिज्य संघ, लमही र भारतको बलरामपुर उद्योग व्यापार मण्डलका प्रतिनिधिहरूबिच भएको बैठकमा कोइलाबास नाका सञ्चालनको विषयमा गम्भीर छलफल भयो । 

नेपाली पक्षबाट देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले कोइलाबास नाकाको पुनर्जीवनले दुवै देशलाई आर्थिक लाभ दिलाउने बताउनुभयो । ठकुरीले भन्नुभयो, "कोइलाबास नाका चलाएमा नेपालको लमही व्यापारिक केन्द्रबिन्दु बन्न सक्छ, यसले भारतीय पर्यटक र व्यापारीहरूलाई सहज प्रवेशको अवसर दिन्छ ।"

बैठकमा भारतको बलरामपुर उद्योग व्यापार मण्डलका महासचिव दिलिप कुमार गुप्ताले भन्सार प्रक्रियालाई डिजिटल बनाउने, सीमा व्यापारलाई सहजीकरण गर्ने, र धार्मिक पर्यटकीय मार्गहरूलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, "नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई व्यापारिक सहकार्यमार्फत सुदृढ गर्न भारतले निरन्तर प्रयास गर्नेछ ।"

बैठकमा दुवै पक्षले कोइलाबास नाकाको पुनःउत्थानका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिइएको छ । देउखुरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरिथापाले २०५१–५२ सालदेखि ठप्पजस्तै रहेको कोइलाबास नाका अहिले पनि नेपाली र भारतीय दुवै पक्षका लागि आर्थिक फाइदाको माध्यम बन्ने बताउनुभयो । 

दुई देशको साझा प्रयास आवश्यकनेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन कोइलाबास नाका मात्र व्यापारिक मार्ग होइन, यो दुई देशको सांस्कृतिक र धार्मिक सम्पर्कको प्रतीकसमेत हो । यस्तो महत्वपूर्ण स्थानलाई पुनः सक्रिय बनाउन दुवै देशका सरकार र निजी क्षेत्रले साझा प्रयास गर्नुपर्नेमा जोड दिएको छ । कोइलाबासले व्यापार मात्र नभइ आपसी भाइचाराको सन्देश पनि प्रवाह गर्ने भएकाले नाका पुनः सञ्चालनका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने सहभागिको जोड थियो । 

देउखुरी उद्योग वाणिज्यसंघले सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको आयोजना गर्न थालेको जानकारी दिँदै भारतीय व्यापारी मण्डललाई औपचारिक निमन्त्रणा समेत दिएको छ ।