• ४ माघ २०८१, शुक्रबार

लोकभजन संरक्षण गर्न भजन प्रतियोगिता

blog

लोकभजनमा विजयी टिमलाई पुरस्कृत गरिँदै ।

छविलाल पाण्डे 

बुटवल, माघ ४ गते । बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ । 

प्रतियोगिताको उपाधी बुटवल उपमहानगरपालिका १७ को मुक्तेश्वर शिव मन्दिर भजन समूहले हात पारेको छ । प्रतियोगितामा बुटवल उपमहानगरपालिका १२ को परोपकार एकादशी भजन समुह द्वितीय, बुटवल ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समुह तृतीय र बुटवल ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना भएका छन् ।

विजेता तथा विभिन्न विधामा उत्कृष्ट हुने समूहलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो अवसरमा नगर प्रमुख पाण्डेयले लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले बिभिन्न जात जाति तथा समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै सोही कार्यक्रम अन्तर्गत लोक भजन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

लोक संस्कृति जोगाउनु सबैको साझा दायित्व भएको बताउंदै उहाँले नयाँ पुस्तालाई लोक भजनमा आकर्षित गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले लोक भजन हाम्रो संस्कृतिसँग जोडिएको बताउँदै लोपोन्मुखको अवस्थामा रहेको हाम्रो परम्परादेखिको लोकभजन जगेर्नाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बुटवल नगरभित्रका २६ वटा भजन समूहको सहभागीता रहेको थियो ।