सिराज खान
नेपालगन्ज, माघ ४ गते । कोहलपुर नगरपालिकाले भूकम्पसम्बन्धि जनचेतना बढाउने उद्धेश्यले विद्यालय विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।
कोहलपुर नगरपालिका अन्तगर्त रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ६८ जना विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई सैद्धान्तिक तथा अभ्यासका माध्यमबाट प्रशिक्षण दिईएको कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बताउनुभयो ।
विगतमा गएका शक्तिशाली भूकम्पमा विद्यालय, शिक्षक तथा विद्यार्थीहरु बढी जोखिममा रहेको पाइएपछि जोखिम न्यूनीकरणका सवालमा सिकाई प्रदान गर्न विज्ञ समूहद्वारा शिक्षकहरुलाई प्रशिक्षण दिईएको उहाँले बताउनुभयो । प्राकृतिक विपदीहरु वाजा बजाएर नआउने भएकाले यस्ता विपद्बाट जोगिन पूर्वसावधानी र तयारी आवश्यक रहेको मेयर आचार्यले बताउनुभयो ।
विगतका भूकम्पहरुको क्षती आंकलन गरेर त्यसबाट जोगिन अपनाउनु पर्ने सावधानीका बारेमा शिक्षकहरुलाई सिकाउने र उनीहरुले विद्यार्थी तथा समाजमा जागरुकता प्रदान गर्ने भएकाले यस्ता प्रशिक्षण निकै महत्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।
शिक्षकहरुलाई सशस्त्र प्रहरी नायव उपरीक्षक तिर्थराज न्यौपानेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कोहलपुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पवित्रा कुमारी थारुले प्रशिक्षण पाएपछि शिक्षकहरु निकै उत्साहित देखिनु भएको बताउनुभयो ।