• ४ माघ २०८१, शुक्रबार

तनहुँमा उन्नत बोका प्रदर्शनी सुरु

blog

बोका प्रदर्शनी स्थल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ ४ गते । तनहुँमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी सुरु भएको छ । भानु ५ को स्याउली पसलमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा शुक्रबार प्रदर्शनी सुरु गरिएको हो ।

‘पोषिलो आहार , बाख्रा पालनमा गुणस्तर सुधार’ भन्ने नाराका साथ  प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा प्रतियोगिता राखिएको छ । भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घको संयुक्त आयोजनामा गरिएको हो ।  

प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जाततर्फ १० हजार, उन्नत जाततर्फ १० हजार र द्वितीय हुनेलाई ८ । ८ हजार, तृतीय हुनेलाई ६ । ६ हजार र सान्त्वना हुनेलाई ४ । ४ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताउनुभयो ।

स्थानीय तथा उन्नत बोका प्रदर्शनी हुन लागेको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य विकास शाखाका अमित ढुङ्गानाले जानकारी दिनुभयो । कार्यक्रममा बोका प्रदर्शनी , बाख्राको उत्पादन परिकार प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी, मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो ।