बुटवल समाचारदाता
बुटवल, माघ ४ गते । बुटवल–गोरुसिङ्गे सडकलाई वन्यजन्तुमैत्री बनाइने भएको छ । बुटवल–गोरुसिङ्गे कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा अन्डरपास बनाइने भएको छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले रुपन्देहीको सालझन्डीदेखि कपिलवस्तुको पिपरा हुँदै वनगाई र गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर जङ्गल क्षेत्रमा वन्यजन्तुले सडक वारपार गर्ने देखिएकाले ती स्थानमा १९ वटा अन्डरपास बनाइने बताउनुभयो ।
रुपन्देहीको सालझन्डीको कोठीजङ्गल क्षेत्र पहिले चारकोसे झाडीका रूपमा चिनिन्थ्यो । सोही क्षेत्रबाट वन्यजन्तुका लागि अन्डरपास बनाउन सुरु हुने छ । सो क्षेत्रमा हिंसात्मक जङ्गली जनावर बाघ, भालुको जोखिम भने कम रहेको छ । निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्वतयारीको काम गर्दै आएका छन् । माघको पहिलो सातादेखि मात्रै सडक विस्तारको काम सुरु हुने भएको छ ।
आयोजनाका अनुसार बजार तथा बस्ती क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने छ भने सहरोन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार हुने छ ।
आयोजना प्रमुख न्यौपानेका अनुसार गाडी गुडाउन मिल्ने छ वटा अन्डरपास, पैदलयात्रुका लागि १२ वटा अन्डरपास, ११ वटा ओभरहेड ब्रिज तथा वन्यजन्तु वारपार गर्ने स्थानमा १९ वटा अन्डरपास बनाइने छन् ।
अहिले सडक विस्तारको पूर्वतयारीको काम अन्तर्गत सडक किनारमा पर्ने निजी भौतिक संरचना हटाइसकिएको छ भने प्रतीक्षालय र बिजुलीका खम्बा हटाउन बाँकी रहेको आयोजनाले जनाएको छ । सडक निर्माणको कार्यादेश–२०८१ कात्तिक ४ देखि सुरु भएकाले त्यसको तीन वर्ष अर्थात् २०८४ कात्तिक ३ भित्र सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।