• ४ माघ २०८१, शुक्रबार

‘एसएमई’ लाई सहज बन्यो पुँजी बजार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते ।  पुँजी बजारमा साना तथा मझौला कम्पनीको पनि सहज प्रवेश हुने भएको छ । पुँजी बजारमा साना तथा मझौला लगानीकर्ताका लागि बनाइएको ‘एसएमई प्लेटफर्म’ को कार्यान्वयनको पाटो अगाडि बढेसँगै यस्तो सहजता भएको हो । 

एसएमई प्लेटफर्मको नियमावली बिहीबारदेखि लागु भएपछि साना तथा मझौला सङ्गठित संस्था (एसएमई) ले प्लेटफर्म बनाएर आइपिओ जारी गर्न पाउने व्यवस्था लागु भएको छ ।

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली बिहीबारदेखि लागु हुने गरी जारी गरेको छ । बोर्डले नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एन्ड क्लियरिङलाई समेत पत्राचार गरेको छ ।

यस्ता संस्थामा अधिकतम २५ करोड रुपियाँभन्दा बढी पुँजी हुन नपाउने व्यवस्था नियमावलीमा छ । कम पुँजी भएका संस्थालाई पुँजी बजारमा बेग्लै प्रावधान राखेर भित्र्याउन लागिएको हो । यस्ता संस्थाले जारी गर्ने प्रारम्भिक निष्कासन (आइपिओ) मा कम्तीमा पनि पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

सार्वजनिक निष्कासनको सेयर खरिद लागि दरखास्त दिन सकिने अधिकतम सीमा भने आइपिओ निष्कासनको विवरणपत्रमा उल्लेख भएबमोजिम हुने जारी नियमावलीमा उल्लेख छ ।

नियमावली अनुसार एसएमई प्लेटफर्ममार्फत आइपिओ निष्कासन गर्ने कम्पनीको सेयर बिक्री प्रबन्धक र योग्य संस्थागत लगानीकर्ताले पनि पाउने भएका छन् । 

त्यस्तै बिक्री प्रबन्धकसम्बन्धी काम गर्ने मर्चेन्ट बैङ्करले पाँच प्रतिशत र योग्य संस्थागत लगानीकर्ताले १५ प्रतिशत सेयर खरिद गरेको हुनुपर्ने प्रावधान नियमावलीमा छ । योग्य संस्थागत लगानीकर्ताले तीन वर्षसम्म उक्त सेयर बिक्री गर्न नपाउने व्यवस्था छ ।

डेढ वर्षपछि नियमावली

गत पुस ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले एसएमई प्लेटफर्मको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको थियो ।बोर्डले नियमावलीको मसौदा बनाएर स्वीकृतिका लागि डेढ वर्षअगाडि अर्थ मन्त्रालयमा पेस गरेको थियो । उक्त नियमावली अर्थले कानुन मन्त्रालयसँग पनि रायसुझाव लिएर मन्त्रीपरिषद्मा पठाएको थियो ।

लामो समय दुई वटा मन्त्रालयमा रोकिएको नियमावली मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि बोर्डले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

पुँजी बजारमा उत्पादनमूलक क्षेत्र (रियल सेक्टर) लाई अपेक्षाकृत रूपमा प्रवेश गराउन नसकिएको अहिलेको अवस्थामा साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउनु अत्यन्त सकारात्मक रहेको सेयर बजारसम्बद्धको प्रतिक्रिया छ । अन्तर्राष्ट्रिय पुँजी बजारमा पनि यो अभ्यास रहेकाले यसबाट साना कम्पनीमा छरिएको पुँजी एकीकृत हुने ब्रोकर रामचन्द्र भट्टराई बताउनुहुन्छ ।  

नियमावली कार्यान्वयनमा आएसँगै साना तथा मझौला सङ्गठित संस्थाले प्रिमियममा धितोपत्र निष्कासन गर्न सक्ने भएका छन् । तीन वर्षसम्म खुद मुनाफामा सञ्चालन रहेको संस्थाले प्रिमियममा धितोपत्र निष्कासन गर्न व्यवस्था नियमावलीमा गरिएको छ ।

चुक्ता पुँजी बढीमा २५ करोड

यस्ता कम्पनीको चुक्ता पुँजी बढीमा २५ करोड रुपियाँ हुने र चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशत प्राथमिक सेयर जारी गर्न पाउने व्यवस्था गरिएको छ ।

नियमावली अनुसार साना तथा मझौला सङ्गठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्न सकिने उल्लेख छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एसएमई प्लेटफर्म सञ्चालनका लागि आवश्यक पर्ने नियमावलीमा उल्लेख छ । साना तथा मझौला कम्पनीलाई एसएमई प्लेटफर्ममा राखेर एसएमई प्लेटफर्मको छुट्टै इन्डेक्स बनाएर कारोबार गराउने तयारीस्वरूप नियमावली तयार गरिएको हो । यो प्लेटफर्ममा दर्ता हुने कम्पनीले आइपिओ निष्कासन गर्दा पब्लिक कम्पनीका रूपमा एक आर्थिक वर्षको पूर्ण अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।