• ९ वैशाख २०८२, मङ्गलबार

नगर अस्पताल सञ्चालन

blog

नवलपरासी समाचारदाता

गैँडाकोट, माघ ३ गते । नवलपरासीपूर्वको गैँडाकोट नगरपालिकामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । 

सुविधाजनक स्वास्थ्य संस्था बनाएर सेवा दिने उद्देश्यले गैँडाकोट नगरपालिका–५ मा नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख शरणकिरण रानाभाटले बताउनुभयो । 

नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले मङ्गलबार आधारभूत अस्पतालका रूपमा सेवा सुरु गरेको यस अस्पतालको उद्घाटन गर्दै अस्पताललाई सुविधासम्पन्न र हरेक प्रकारका बिरामीले सेवा लिन मिल्ने गरी अगाडि बढाइएको बताउनुभयो । नगरप्रमुख अधिकारीले स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँचमा सर्वसुलभ र छिटो सेवा दिने उद्देश्यले यो अस्पताल सञ्चालनमा ल्याएको बताउँदै सबैलाई स्वास्थ्य सेवाबाट फाइदा लिन आग्रह गर्नुभयो । 

उक्त अस्पतालमा तीन जना एमबिबिएस चिकित्सक, ल्याब अधिकृतसहितका कर्मचारी रहने व्यवस्था गरिएको अस्पतालका प्रमुख शरणकिरण रानाभाटले बताउनुभयो । 

पूर्वी नवलपरासीमा कावासोतीस्थित डन्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल टाढा रहेका कारण पनि नवलपुरका बिरामी भरतपुर जानुपर्ने बाध्यतालाई हटाउन गैँडाकोटबाट यो सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको गैँडाकोटका समाजसेवी रोशनभक्त अधिकारीले जानकारी दिनुभयो । 

गैँडाकोटमा सञ्चालनमा ल्याइएको अस्पताल यस भेग वरिपरिका बिरामीका लागि भरपर्दो र विश्वासिलो हुने अस्पतालका अध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभयो ।