• २ माघ २०८१, बुधबार

नेपालगगन्ज भुकम्प जोखिममा

blog

नेपालगगन्ज उपमहानगरपालिका कार्यालय। तस्बिरः सिराज खान

सिराज खान 

नेपालगगन्ज, माघ २ गते । सहरीकरण हुँदैजाँदा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन ध्यान नदिएको र ठुलो संख्यामा धेरै पुराना घरहरु रहेकाले नेपालगगन्ज भूकम्पको उच्च जोखिममा रहेको छ। विगतमा भूकम्पले देशमा ठुलो क्षति गरेपछि सरकारी स्थलमा बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा हुने निर्माणमा लापरवाही अझै पाइने गरेको छ  ।

पश्चिम नेपालमा भूकम्प गएमा ठुलो जनधनको क्षति हुने आँकलन गर्दै तथ्याङ्कहरू सार्वजनिक हुँदैआएका छन् । बाँके अन्तर्गत पश्चिम नेपालको पुरानो सहर नेपालगन्जमा पनि भूकम्पीय जोखिम अत्यधिक रहेको अध्ययनले देखाएको छ ।

नेपालगन्जमा भूकम्प गए हुनसक्ने क्षति र पूर्व तयारीबारे सुपर परियोजनाले नेपालगन्जमा वस्तुस्थिति अध्ययन गरी अनुसन्धानका क्रममा ७–८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २१८ घर पूर्णरूपमा क्षति हुने अनुमान गरेको छ । त्यस्तै, ८.६ रेक्टर स्केलको भूकम्प गएमा ३ हजार घरमा क्षतिपुग्न सक्ने प्रक्षेपण गरिएको छ ।

परियोजनाको अध्ययनअनुसार, नेपालगन्जमा मात्र ११ हजार ८०० जनाभन्दा बढी मानिसहरू विपद्को जोखिममा रहेका छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ । सुपर परियोजनाले भूकम्पको असर, पूर्वतयारी र स्रोत विकासका लागि पूर्व तयारी योजना बनाउन दोस्रो फेजको अध्ययन सुरु गरेको सुपर परियोजनाका रूपन ज्ञवालीले जानकारी दिनुभयो । 

अध्ययन, अनुसन्धान गत जनवरीदेखि सुरु गरिएको जनाउँदै नेपालगन्जका सबै वडामा हुने उहाँले बताउनुभयो । भूकम्प आइहाले हुने क्षतिको पूर्वानुमान र त्यसको व्यवस्थापनको पूर्व तयारी भए भूकम्पका बेला प्रभावकारी काम गर्न सकिने ज्ञवालीको भनाइ छ ।