अनिल पराजुली
हेटौँडा, माघ २ गते । “भूकम्पले सिकाएको पाठ, बलियो संरचना सुदृढ पूर्व तयारीका साथ” भन्ने मूल नारासाथ हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडा –२ स्थित कार्यालयको प्राङ्गणमा बुधवार बिहान दिवसको अवसरमा भूकम्प सिकाइ प्रदर्शनी कार्यक्रम २०८१ गरिएको हो ।
भूकम्प सिकाइ प्रदर्शनीमा हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका सामुदायिक, निजी विद्यालय र नेपाल प्रहरीले प्रदर्शनीस्टल राख्नुभएको हो । प्रदर्शनीमा हेटौँडा उपमहानगरपालिकाले भूकम्प सुरक्षाबारे जानकारी दिन स्टल राखेको हेटौँडा उपमहानगरपालिका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो ।
हेटौँडा –४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय भुटनदेवी मावि, वंशगोपाल मावि, नवोदय शिशु सदनसहित बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौँडा र सशस्त्र प्रहरी वल नेपाल १४ गण हेडक्वाटर मकवानपुरले स्टल राखेर यहाँ आउने विद्यार्थी र सेवाग्राहीलाई भूकम्पबाट कसरी बच्ने भनेर जानकारी दिइएको थियो ।