• २ माघ २०८१, बुधबार

ट्रम्पको शपथ ग्रहण समारोह ऐतिहासिक हुने

blog

राले-अमेरिका, माघ २ गते । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आउन एक साता पनि बाँकी छैन तर शपथ ग्रहण समारोहको चर्चा भने निकै चुलिएको छ । सो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रुपमा आयोजना हुने भएको छ । 

शपथ ग्रहण समारोह चार दिनसम्म अर्थात् आगामी शनिबार सुरु भएर मङ्गलवार सम्पन्न हुनेछ । 

शपथ ग्रहण समारोह समितिले सो समारोहका लागि भनेर हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी डलर सङ्कलन गरिसकेको छ । समारोहका लागि दश लाख डलर वा सोभन्दा बढी चन्दा दिने चन्दादाताहरु राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरुसँगै चियापान तथा भोजमा सामेल हुनेछन् । स्थानाभावका कारण तर पनि सबै जनाले यो अवसर पाउँछन् भन्ने निश्चितता भने छैन । 

राष्ट्रपतिको शपथ ग्रहण भने जनवरी २० तारिख सोमवार १२ बजे हुनेछ । तर यसअघि नै शनिवार भर्जिनियास्थित गल्फ क्लबबाट यो समारोहको औपचारिक कार्यक्रम सुरु हुने बताइएको छ । 

विभिन्न समाचारपत्रहरुले दिएको जानकारी अनुसार शनिवार मन्त्रिपरिषद्को रिसेप्सन, उपराष्ट्रपतिको रात्रीभोज र आतशबाजी हुनेछ । त्यसैगरी आइतवार वीरगति प्राप्त सैनिकहरुको समाधिस्थल आर्लिंगटनमा गएर उनीहरुप्रति श्रद्धा र माल्यार्पण र राष्ट्रपति ट्रम्पले विजय जुलुस र रात्रीभोजमा सरिक हुने विशिष्ट महानुभावलाई सम्बाेधन गर्नुहुने कार्यक्रम छ । 

जनवरी २० तारिख बिहान राष्ट्रपति ट्रम्प सेन्ट जोन्स चर्चमा उपस्थित हुनुहुनेछ भने त्यसपछि वर्तमान राष्ट्रपति जो वाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच भेटघाट र सत्ता हस्तान्तरण हुनेछ र १२ बजे ट्रम्पको शपथ ग्रहण हुनेछ । त्यसपछि ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नुहुनेछ। त्यसपछि ह्वाइट हाउसबाट राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बिदाइ हुनेछ ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही नियुक्ति, सीमा र अध्यागमनलाई सम्बाेधन गर्न कार्यकारी शक्ति प्रयोग गर्ने भन्नेबारे केही कार्यकारी आदेश र केही महत्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ । समाचारपत्रहरुका अनुसार ट्रम्पले सोही दिन २५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुहुनेछ । ट्रम्पले टाइटल ४२ को पुनःस्थापना र अध्यागमन र राष्ट्रियता ऐन २८७ जीको प्रयोग गर्नसक्ने समेत जनाइएको छ । 

सोही दिन दुवै सदनले संयुक्त रुपमा आयोजना गर्ने दिवाभोजमा राष्ट्रपतिलगायत विशिष्ट पदाधिकारी उपस्थित हुनुहुनेछ ।  त्यसपछि ट्रम्पले राष्ट्रपति भवन नजिकै पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र राष्ट्रपतिय परेडको अवलोकन गर्नुहुनेछ । सोही दिन ओभल अफिसमा हस्ताक्षर समारोह हुनेछ । 

सोही दिन अतिथि, विशिष्ट अतिथि, मन्त्रिपरिषद्का सदस्य, पाहुना, चन्दादातालगायत पूर्व राष्ट्रपतिहरु एवं समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु सम्मिलित तीनवटा भोज आयोजना हुनेछ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको नाचगान, मनोरञ्जनलगायतका विभिन्न कार्यक्रम  आयोजना हुनेछ । शपथ ग्रहणको अन्तिम दिन मङ्गलवार राष्ट्रिय प्रार्थना सभासँगसँगै कार्यक्रम अन्त्य हुनेछ । 

को को हुनेछन् ? 

शपथ ग्रहण समारोह समितिले राष्ट्रपति ट्रम्प को यो दोस्रो कार्यकाल भव्य रुपमा आयोजना गर्ने गरी तयारी सुरु गरिसकेको छ ।  सबै मुख्य चन्दादाताहरुलाई समेत यो कार्यक्रममा सामेल गर्न नसकिने सम्भावना पनि व्यक्त गरेको छ । यो चन्दा रकम सो दिनसम्म पुग्दा २० करोड डलर पुग्ने अनुमान गरिएको छ । गत पटक यही कार्यक्रमका लागि जम्मा १० करोड चन्दा उठेको थियो । चन्दादाताहरु सो समारोहमा उपस्थित भएर आफ्नो व्यवसाय वा व्यापारको लागि लविंग गर्न लालायित हुने भएकोले यसरी चन्दा सङ्कलन भएको हो । यो समारोहमा सर्वाधिक चर्चित व्यक्ति तथा संसारकै सबैभन्दा धनी व्यक्ति इलन मस्क पनि हुनुहुनेछ भने मार्क जुकेनवर्ग र जेफ बेजोज पनि उपस्थित हुनुहुनेछ । यी तीनजना मन्त्रीहरुकै लहरमा रहनुहुनेछ। 

सोही लहरमा तीन जना पूर्व राष्ट्रपति पनि उपस्थित हुनुहुनेछ । पूर्व राष्ट्रपतिहरु बाराक ओवामा, बिल क्न्टिन र  जर्ज डब्लु बुस सो समारोहमा हुनुहुनेछ। 

ओबामा पत्नी मिसेल ओबामा भने उपस्थित नहुने बताइसक्नुभएको छ । अमेरिकास्थित विदेशी मुलुकका राजदूतावासका राजदूत तथा नियोग प्रमुखहरुलाई निमन्त्रणा पठाइने भएकोले विदेशी राष्ट्रप्रमुखहरुको उपस्थिति भने ज्यादै न्यून हुने बताइएको छ । 

चन्दा क-कस्ले दियो ?

चन्दादाताको नामावली लामो छ । तर पनि मेटा, अमेजन, गोल्डमेन स्यान्च, बैंक अफ अमेरिकालगायतका संस्था तथा खुला एआईका मुख्य कार्यकारी अधिकृत स्याम एल्टम्यान, उवरका प्रमुख कार्यकारी डारा खोस्रोसाही र सिटाडोलका प्रमुख कार्यकारी केन ग्रिफिनलगायतले १० लाख डलरभन्दा बढी चन्दा दिनुभएको छ । यसबाहेक अरु थुप्रै संस्था तथा व्यक्ति हुनुुहुन्छ । 

कलाकार को-को आउँछन्  ?

लोक गायिका क्यारी अन्डरउड यो कार्यक्रमकी सर्वाधिक चर्चित गायिका हुनुहुन्छ । शपथ ग्रहण समारोहकी प्रमुख गायिका अण्डरउड र वाइएमसिए नामक गीत गाएर चर्चा बटुलेको भिलेज पिपुल नाम गरेको ब्याण्डले सम्पूर्ण समारोह तताउनेछ । 

अण्डरउडले जनवरी २० मा अमेरिका दि ब्युटिफुल र गड ब्लेस दि युएसए नामक गीत गाउनुहुनेछ । केही लोकगायकहरु जेसन एल्डन, रास्कन फ्याल्टस्, किड रक र विली रे साइरस र क्रिस्टाेफर मासिनो आदिले पनि आआफ्नो प्रस्तुति दिनुहुनेछ ।  

Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।