• २ माघ २०८१, बुधबार

गाउँको विकासले पाडीवासी हर्षित

blog

स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र सञ्चारको पहुँचमा रहेको हिमाली गाउँपालिका–६ को पाडीगाउँ । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता 

बाजुरा, माघ २ गते । हिमाली गाउँपालिकाको–६, पाडी बाजुराकै एक विकट ठाउँमा पर्छ । जिल्ला सदरमुकाम मार्तडीदेखि यो गाउँ करिब ७४ किलोमिटरको दुरीमा छ । सोही गाउँमा अहिले आधारभूत सुविधा पुगेका छन् । गाउँमा अहिले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक पुगेको भए पनि सञ्चारको सुविधा भने अझै पुगेको थिएन । अहिले फोरजी सञ्चालनमा आएसँगै त्यो समस्या पनि हटेको स्थानीय अम्मर रावलले बताउनुभयो ।

केही वर्षअघि यहाँका बासिन्दाले भेडा, घोडा र खच्चडको भरमा दाल, चामल, नुन, तेललगायतका दैनिक उपभोग्यका खाद्यान्न सामग्री ढुवानी गरिरहेका थिए । यहाँ सिमी, आलु, जौ, कागुनो, उवा फापर, मार्सी, स्याउ, ओखर र कागतीलगायतका खाद्यान्न फलफूल पनि प्रशस्त उत्पादन हुने गर्छ । स्थानीयलाई यी उत्पादित सामग्री बजारसम्म पु¥याउनका लागि निकै समस्या थियो । पछिल्लो समय गाउँमा सडक पुगेपछि त्यहाँको उत्पादनले पनि बजार पाउन थालेको छ । स्थानीयले जीविकोपार्जनमा सहजताको अनुभूति गर्न थालेका छन् ।  २०६४/६५ सालदेखि बाजुराका अधिकांश गाउँबस्ती सञ्चारको पहुँच पुगे पनि यो गाउँ भने त्यो सेवाबाट अहिलेसम्म वञ्चित थियो ।   

पछिल्लो समय गाउँपालिकाले यहाँको विकासको कार्यलाई पहिलो प्राथमिकता दिएसँगै अहिले बल्ल गाउँमा विकास पुगेको महसुस भएको स्थानीय रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सबैका गाउँमा गाडी गुड्छन् । ती गाउँ स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र बिजुलीको पहुँचमा छन् । हाम्रो गाउँमा यस्तो विकास कहिले होला भन्ने लाग्थ्यो । अहिले त्यो सबै विकास आफैँले गाउँमा देख्न पाउँदा निकै खुसी छौँ ।” पाडीगाउँमा अहिले करिब १२० घरपरिवारको बसोबास रहेको छ । 

यहाँको विकास निर्माणलाई पालिकाले पहिलो प्राथमिकता दिएसँगै अहिले यहाँका स्थानीयले निकै राहतको महसुस गर्न थालेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “२०८० सम्म यो गाउँ स्वास्थ्य, शिक्षा, खानेपानी र सडकको पहुँचमा पुगे पनि सञ्चार सुविधा पुग्न सकेको थिएन । हाम्रो लामो प्रयासपछि बल्ल हिजोबाट यहाँका स्थानीयलाई त्यो सञ्चार सेवा पनि उपलब्ध गराइएको छ ।” विगत पाँच वर्षदेखि यहाँ खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम सञ्चालनमा छ । यहाँ एक घरको एक जनाले पाँच वटा स्याउका बोट रोपेका थिए । ती स्याउ अहिले फल्न थालेका छन् ।