जीवछ यादव
लहान, माघ १ गते । लायन्स क्लब अफ फूलबारी लहानले साधु सन्तलाई बिहान भोजन गराएर न्यानो कपडा वितरण गरेको छ । लहान –७ स्थित रहेको दुर्गा मन्दिरको अगाडि स्थानीय ८० जना विपन्न बालबालिका र साधु सन्तलाई भोजन गराउनुका साथै कपडा वितरण गरिएको क्लबका अध्यक्ष शङ्करप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
वातावरण स्वास्थ्य शिक्षा र विपन्न समुदायलाई आवश्यक सहयोग गर्दै आइरहेको लहान लायन्स क्लब फूलबारीले मानवीय विपत्तिको समयमा समेत उदाहरणीय काम गरिरहेको लहान–७ का वडाध्यक्ष रामऔतार शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारसँगको सहभागितामा विपन्न असहायलाई सेवा गर्ने कार्यलाई निरन्तरता दिइरहन क्लबको भूमिका सराहनीय रहँदैआएको छ ।’
लहानमा विपद् जोखिम नियन्त्रणको लागि लहान नगरपालिकामा रहेको विपद् व्यवस्थापन समिति र लहानका गैर सरकारी सङ्घ संस्थाहरु मिलेर विपन्न समुदायहरुलाई सहयोग पुर्याउन सहयोगी कपडा बैंक स्थापना गर्नुपर्ने आवश्यकता रहेको लायन्स क्लब अफ फूलबारीका संस्थापक अध्यक्ष राकेशकुमार झाले बताउनुभयो ।
यस्तै, थारू कल्याणकारिणी सभा सिरहाले जिल्लाको ६ स्थानमा माघी पर्व महोत्सवको आयोजना गरेर थारु समुदायले आफ्नो भाषा संस्कृतिको पहिचान र विकासका लागि जागृत गर्न लागेको समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लहान –१५ झ्वाइ खोल्सी, लहान–९ लहानगोठ, लहान–२२ शिश्वनी, लहान–१२ भोटियाटोल र नरहा गाउँपालिकामा महोत्सवको आयोजना गर्न लागिएको हो ।
सिराहा जिल्लामा १२१ गाउँमा ३१ हजार जनसङ्ख्या रहेको थारू समुदायले जितिया र माघी पर्वलाई आफ्नो पहिचान सामाजिक र पारिवारिक सुख शान्तिको कामना र प्रार्थना गर्न महोत्सवको आयोजना भइरहेको धनगढीमाई नगरपालिकाका उपप्रमुख सङ्गीता चौधरीले बताउनुभयो । पछिल्लो समय सिराहा जिल्लामा माघी महोत्सव मनाउने कार्यले राम्रो सन्देश दिइरहेको प्रष्ट पार्नुभयो ।