• १९ माघ २०८१, शनिबार

'सुन सरी सुन्तला...'

blog

डुम्रे बजारमा बिक्रीको लागि ल्याइएको सुन्ताला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १ गते । 

‘सुनकै भाउ छ सुन्तला भारीको

चाखी जानु भन्ने मन टाढी गो।।।’

महँगाे मूल्यमा किन्नुपरेकोले आजभाेलि याे गीत ठ्याक्कै मेल खान्छ सुन्तलाका ग्राहकका लागि । शिलाबहादुर मोत्तानको सङ्गीतमा कुन्ती मोक्तानले गाउनुभको यो गीत जस्तै सुन्तला चाखी खानु भनेर पठाउनेको मन टाढिएकाले सुन्तला किन्नुपर्छ । 

कृषकले केही समय पहिलासम्म आफूले खान, आफन्तलाई कोसेलीको रुपमा पठाउन घर वरिपरि शौख तथा सौन्दर्यको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् ।

व्यावसायिक रुपमा सुन्तलाको बोट हुर्काएर कृषकहरु लखपति बन्न सफल भएका छन् । कृषकका लागि सुन्तलाकाे बोट सुन फल्ने बोट जस्तै भएको छ । केही वर्ष पहिलेसम्म आफन्तलाई कोसेली पाको पारेर पठाउन र आफूले खाएर ठिक्क हुने म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला कृषक शुकनारायण श्रेष्ठलाई सुन जस्तै भएको छ । 

बोटमा सुन्तला हैन सुन फले जस्तो लाग्छ श्रेष्ठका लागि । श्रेष्ठले यस वर्ष सुन्तला बेचेर ४५ लाख रुपियाँ हात पार्नुभयो । कृषक श्रेष्ठले भन्नुभयो, "पहिला सौखिनको लागि पालिएको सुन्तला हाल सुन सरी भएको छ ।" सुन्तला बेचेर लखपति बनेका कृषक श्रेष्ठ तनहुँको सबैभन्दा धेरै सुन्तला बेच्ने नमुना कृषक हुनुहुन्छ । 

सोही ठाउँका विश्वबहादुर अधिकारी अहिले राजनीति छाडेर सुन्तलाको व्यावसायिक कृषक बन्नुभएको छ । साविक जिल्ला विकास समितिको दुई पटक सभापति हुनुभएका अधिकारी र उहाँको भाइ निर्मल अधिकारी मिलेर गरेको सुन्तला खेतीबाट वर्षिक रुपमा रु. ६० देखि ६५ लाख कमाउनुहुन्छ । राजनीतिमा निष्क्रिय बन्दै जानुभएका अधिकारी सुन्तला खेतीबाट नाम पनि दाम पनि मिल्न थालेपछि त्यसमै रमाउनुभएको छ ।

यता देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले यस वर्ष सुन्तला बेचेर ३० लाख हात पार्नुभयो । सुन्तला बेचेर लखपति बन्नु भएका राना भन्नुहुन्छ, "सुन र सुन्तला मेरो लागि उस्तै हुन् बोटमा सुन्तला हैन सुन फले जस्तो लाग्छ ।"  

आफन्तलाई कोसेली बनाएर खाएर ठिक्क हुने सुन्तला अहिले व्यावसायिक बनाउनुभएको रानाले सुन्तला किन्न ठेकदार बगैंचामै टिपेर बोटमा सुन्तला निख्रिसकेको म्याग्दे, जामुनेका कृषक निर्मलबहादुर अधिकारीले बताउनुभयो । 

"बजारमा गए किनेर खान सुन्तला पाइन्छ यतिबेला बगानमा आए सुन्तला छैन बोट भएको दाना निख्रिसके," अधिकारीले भन्नुभयो । उमाचोकबाट मात्रै करिब साढे दुई करोडको सुन्तला कृषकले बिक्री भएको र गाउँका सबै सबै बोटमा सुन्तला निख्रिसकेको उमाचोक सुन्तला ब्लक क्षेत्रका अध्यक्ष मेत रहनुभएका अधिकारीले जानकारी दिनुभयो । 

"चखाउनका लागि भनेर कसैले राख्दैनन्, सुन जस्तै भयो सुन्तला सबैलाई बिक्री गरेर गोजी भर्ने ध्यान छ," अधिकारीले भन्नुभयो । आफ्नो परिवारले मात्रै ८५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएको र यस वर्ष ६५ लाख रुपियाँ आम्दानी भएको अधिकारी जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष २०८०-०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका थिए । ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । यो वर्ष कति आम्दानी भयो भने विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।