बाजुरा समाचारदाता
बाजुरा, माघ १ गते । बाजुरा देशकै दुर्गम जिल्लाका रूपमा मानिन्छ । यस जिल्लाका हिमाली गाउँपालिका पाडी यहाँका अन्य नौ वटै पालिकाको तुलनामा अझ विकट र दुर्गम मानिन्छ । फोनसमेत लाग्न मुस्किल हुने यो गाउँपालिकामा यतिबेला भने फोरजीसहितको टेलिफोन सेवा सञ्चालनमा आएको छ । फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । आइतबार टावरको निर्माण पूरा भएसँगै पाडीका घर घरमा फोरजी चल्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
हिमाली–६, पाडीका अम्मर रावल भन्नुहुन्छ, “यसअघि यहाँका बासिन्दा मोबाइलमा कुरा गर्न पनि कता अग्लो डाँडा छ भनेर खोज्दै हिँड्थे । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छन् । यसले निकै सुबिस्ता भएको अनुभव भइरहेको छ । अहिले देश तथा विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्न पाएका छौँ । निकै खुसी पनि लाग्छ ।”
गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । गाउँबस्तीमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीयलाई स्थानीय सरकार घरमै पुगेको महसुस भएको पनि रावलले बताउनुभयो ।
यहाँका अधिकांश गाउँबस्तीमा घाम लागेका बेला फोन लाग्ने र पानी परेका बेला फोन नलाग्ने गथ्र्यो । यहाँको भौगोलिक अवस्था अन्य स्थानीय तहको भन्दा निकै फरक छ । यस्तो कठिन परिस्थितिमा पनि यो पालिकाले यहाँका स्थानीयलाई विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चारलगायतका विभिन्न सेवा उपलब्ध गर्दै आएको छ ।
पालिकाले विगत पाँच वर्षदेखि नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरासँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वैशाखदेखि पाडीमा टावर निर्माण कार्य सुरु भएको थियो ।
यहाँ फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने आशा गरिएको छ ।
केही वर्षअगाडि हिमालीको धुलाचौरमाथि डाँडामा पालिकाको १५ लाख रुपियाँ लगानी गरेर टावर निर्माण गरेपछि यहाँ फोरजी सेवा सञ्चालन भएको थियो । सो सेवा अहिले पाडीमा पनि सञ्चालन भएको छ । अबका केही दिनभित्र बिस्तारै हिमाली–१, २, ३, ४, ५, ६ र ७ गरेर सबै वडामा टावर र इन्टरनेटसहित टेलिफोन सेवा विस्तार गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।