• २ माघ २०८१, बुधबार

ब्याजदर पुसकै सरह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । वाणिज्य बैङ्कहरूले माघका लागि नयाँ ब्याजदर तोकेका छन् । माघ १ गतेदेखि लागु हुने गरी हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कले नयाँ ब्याजदर तोकेका हुन् । नयाँ ब्याजदरमा अधिकांश बैङ्कले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैङ्कमध्ये १७ बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी तीन वाणिज्य बैङ्कमध्ये दुई वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ ।

नेपाल एसबिआई बैङ्क र कृषि विकास बैङ्कले पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैङ्कले ब्याजदर बढाएको छ । नेपाल एसबिआई बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर छ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैङ्कले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइज बैङ्कले यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्‍याएको छ ।

पुस महिनाको तुलनामा बैङ्कको औसत ब्याजदर पनि सामान्य घटेको छ । पुसको तुलनामा माघमा बैङ्कको ब्याजदर ०.०१५५ प्रतिशत विन्दुले घटेको हो ।