• १ माघ २०८१, मङ्गलबार

गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते

blog

दुर्घटनामा परेको जिप ।

रमेश विश्वकर्मा

गुल्मी, पुस २९ गते । गुल्मीको मदाने गाउँपालिका वडा १ अग्लुङ्ग फेदीनजिक जिप दुर्घटना भएको छ । गुल्मी र प्युठानको सिमानामा भएको जिप दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीको मालिका गाउँपालिका वडा ८ सिमलटारीदेखि प्युठानको गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप सोमबार बेलुका दुर्घटना भएको हो । जिप दुर्घटनामा परी मालिका गाउँपालिका वडा ८ का पवित्रा जिसी, दिपसन जिसी, सुगम बोहरा, सुशील खत्री, भरत सुनार, फजबहादुर खत्री, माया पाठक, कमला खत्री, पवित्रा खत्री, ज्ञानी खत्री, मदाने गाउँपालिका वडा १ का मुसि खत्री र मालिका गाउँपालिका वडा ७ का गाडी चालक कृष्णबहादुर खत्री घाइते हुनुभएको छ ।

जिपमा सवार सबै यात्रु घाइते हुनुभएको हो । १२ जना घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार घाइतेलाई उपचारका लागि पुर्कोटदह स्वास्थ्य संस्थामा लागि ल्याइएको छ ।

भोलि अर्थात माघे संक्रान्तिका दिन प्युठानको धार्मिकस्थल गौमुखीमा दर्शन र मेला अवलोकनका लागि उहाँहरु यात्रामा हुनुहुन्थ्यो । जिप सडकदेखि १० देखि १५  मिटर तल खसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।